माधव नेपाललाई झलनाथको प्रश्न : तानाशाह बन्न खोज्नु भएको हो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन् ।
हालै एक टेलिभिजन अन्तर्वार्तामा नेता खनालले नेकपा (एमाले) बाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपालले प्रतिवाद गरेका थिए । खनालको उक्त अभिव्यक्तिको प्रतिक्रियामा अध्यक्ष नेपालले सार्वजनिक रूपमै (विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै) ‘पार्टी छोडेर जानसक्ने’ अभिव्यक्ति दिएका थिए ।
अध्यक्ष नेपालको उक्त अभिव्यक्ति पछि कुरा गर्दै नेता खनालले अध्यक्ष नेपालको भनाइ अत्यन्तै अशोभनीय, गैर–जिम्मेवार एवं तानाशाही प्रवृत्तिको भएको बताएका छन् ।
‘पार्टीको नेतृत्व गर्ने व्यक्तिले अर्को नेतालाई बोल्ने भाषा यस्तो हुँदैन, यदि मेरो कुरामा चित्त नबुझेको हो वा केही स्पष्ट हुनुपर्ने थियो भने पार्टीको बैठक बोलाएर वा व्यक्तिगत रूपमा सोध्न सकिन्थ्यो । तर त्यसरी सार्वजनिक रूपमा आदेश दिनु र पार्टी छोड्न भन्नु सरासर तानाशाही हो’, उनले भने ।
उनले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरे । ‘मैले पार्टी विद्रोहको औचित्य पुष्टि हुन सकेन, जनताको काम गर्न सकिएन भन्दा पार्टी छोडेर जा भन्नेलाई मेरो प्रश्न छ–कस्तो तानाशाह बन्न खोजेको हो ?’ उनले प्रश्न गरे ।