फेरि बढ्यो विद्युत चुहावट, प्राधिकरणले गुमायो १२ अर्ब


२०८२ श्रावण १६ शुक्रबार २१:४७ बजे

काठमाडौं । एक दशकयता विद्युत चुहावट आधा घटाएको विद्युत प्राधिकरणको तथ्याङ्कमा यस पटक भने बढेको छ। वितरण चुहावट एकाएक बढ्दा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब रुपैयाँ गुमाएको छ ।

गत चैत दोस्रो साता प्राधिकरणको नेतृत्व सम्हालेका हितेन्द्रदेव शाक्यले चुहावट रोकथामका लागि ठोस कदम नचाल्दा प्राधिकरणले वितरण चुहावट बापत १२ अर्ब गुमाउनु परेको हो । प्राधिकरणले प्रादेशिक कार्यालयहरुबाट संकलन गरेको तथ्यांक अनुसार वितरण चुहावट १.१७ प्रतिशत विन्दुले बढेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा १२.२० प्रतिशतको वृद्धि हो ।

वितरण चुहावट अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९.५९ प्रतिशत रहेकामा गत आव २०८१/८२ मा १०.७६ प्रतिशत पुगेको छ । प्रादेशिक कार्यालयहरुले प्राधिकरण मुख्यालयमा पठाएको विवरण अनुसार वितरणतर्फ १२ करोड युनिट विद्युत चुहावट भएको स्रोतले जानकारी दिएको छ । 

‘वितरण प्रणालीमा रहेको चुहावट रोक्न एमडीले खासै ध्यान दिएको देखिएको थिएन । जसका कारण १२ करोड युनिट चुहावट भएको विवरण आएको छ,’ स्रोतले भन्यो, ‘विद्युत १ प्रतिशत चुहावट हुँदा कम्तीमा एक अर्ब नोक्सान हुन्छ। यस आधारमा भन्ने हो भने प्राधिकरणले वितरणतर्फको चुहावटबाट करिब एक अर्ब २० करोड गुमाएको छ ।’

वितरणतर्फ हुकिङ, मिटर रिडिङमा गडबडी, फेज छुट लगायत कारण विद्युत चुहावट हुने गरेको छ । यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेदेखि नै चुहावट नियन्त्रण गर्नका लागि देशव्यापीरुपमा अभियान चलाएका थिए । चुहावट रोक्न उनी आफैं फिल्डमा खटिने गरेका थिए ।

कुलमानले विद्युत चुहावट नियन्त्रणका लागि जिल्ला÷जिल्लामा पुगे । वर्षौंदेखि एउटै कार्यालयमा बसेर मिटर रिडिङ गरिरहेका २५ सय कर्मचारीको सरुवा गरे । विद्युत चोरीमा साथ दिने कर्मचारीलाई पक्राउ गराएर कारबाही गर्न लगाए। जसले गर्दा चोरी नियन्त्रणमा प्राधिकरणलाई सफलता मिल्यो ।

उनले प्राधिकरणको नेतृत्व सम्हाल्नुअघिको आर्थिक वर्ष २०७२/७३ मा वितरणतर्फको चुहावट १९.८० प्रतिशत थियो । कुलमान सुरुबाट नै चुहावटविरुद्ध निर्ममरुपमा प्रस्तुत भए । जसले गर्दा चुहावट हरेक वर्ष घट्न पुगेको थियो ।

उनले प्राधिकरणको नेतृत्व सम्हालेकै वर्ष आव २०७३/७४ मा चुहावट १६.८३ प्रतिशतमा झारे । त्यसपछिको आव २०७४/७५ मा १४.८२, २०७५/७६ मा ११.२८ र आव २०७६/७७ मा १०.२८ प्रतिशतमा चुहावट झरेको तथ्याङ्क छ ।

कुलमानको चार वर्षे कार्यकाल सकिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हितेन्द्रदेवलाई प्राधिकरणको नेतृत्व सुम्पिए । त्यसपछि १०.२८ प्रतिशतमा झरिसकेको चुहावट आव २०७७÷७८ मा बढेर ११.६४ प्रतिशत पुगेको थियो ।

२०७८ को साउनमा प्राधिकरणको नेतृत्वमा फेरि कुलमान फर्किए । त्यसपछि चुहावट फेरि तल झर्‍यो । वितरण चुहावट आव २०७८/७९ मा १०.८६, आव २०७९/८० मा ९.७६ र आव २०८०/८१ मा ९.४० प्रतिशतमा झरेको प्राधिकरणको तथ्याङ्क छ ।

कुलमानलाई बर्खास्त गरेर ओलीले गत चैत दोस्रो साता फेर हितेन्द्रलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाए । उनले श्वेतपत्रको सारसंक्षेप जारी गरे । ती उच्च अधिकृतका अनुसार चुहावट बढ्नुमा कुलमानलाई कुनै पनि हालतमा हटाउन अनेक प्रयास गरेका ऊर्जामन्त्री खड्काको पनि हात छ ।

‘मन्त्री ज्यूले संसद्को रोष्टमबाटै लोडसेडिङ हुन्छ भनिदिनु भयो । जबकि लोडसेडिङ हुने अवस्थै थिएन । तर मन्त्रीले पटक पटक लोडसेडिङको कुरा गरेपछि विद्युत हुकिङ गर्ने काम बढ्यो । मन्त्रीले कुलमानलाई कमजोर देखाउन मनपरी बोलिदिंदाको असर अहिले एमडीको थाप्लोमा परेको छ,’ ती उच्च अधिकृतले भने ।

प्राधिकरणले आउँदो भदौ १ गते ४० औँ वार्षिकोत्सव मनाउँदैछ । उक्त अवसरमा उपलब्धिहरूको फेहरिस्त प्रस्तुत गर्न प्रतिवेदनको तयारी हुँदैछ । तर, प्राधिकरणको नेतृत्व परिवर्तन भएकै बेला चुहावटको अंक बढेको देखिँदा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका लागि टाउको दुःखाइ बनेको छ ।

निर्देशनालयका एक अधिकारीका अनुसार, चुहावट प्राविधिक र गैरप्राविधिक हुन्छ । प्राविधिकतर्फ हेर्दा ‘ट्रिपिङ’ (बत्ती जाने–आउने) समस्या, नियमित आपूर्तिमा समस्या आदि कारणले हुन सक्छ । तर, मुख्य कारण चाहिँ केही महिनायता चुहावट र चोरी नियन्त्रणका लागि चालिएका कदम ठप्पप्रायः भएका छन् ।

उनका अनुसार, कार्यकारी निर्देशक शाक्यले चुहावट बढेको तथ्याङ्क संशोधन गर्न निर्देशन दिएका छन् । उनको निर्देशनपछि ग्राहक तथा वितरण सेवा निर्देशनालयका निर्देशक दीर्घायुकुमार श्रेष्ठले छलफलका लागि शनिबार बैठक बोलाएका छन् ।

बैठकमा सबै प्रादेशिक कार्यालयका प्रमुखहरूलाई बोलाइएको स्रोतको भनाइ छ । एक प्रादेशिक कार्यालय प्रमुखले भने, ‘म त तथ्याङ्क संशोधन गर्न सक्दिनँ । दिनलाई रात, रातलाई दिन भन्न सकिँदैन । भोलि महालेखापरीक्षकबाटै अडिट हुने कुरा हो यो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७