एमाले–कांग्रेसको सात बुँदे सहमतिलाई कम नआँक्नू : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिंहले जनताको मागमा दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।
‘सरकारमा खालि सत्तामा जान, मन्त्री, उपप्रधानमन्त्री हुन मात्रै गएका होइनौं । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौं’, उनले भने । सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिन अहिलेको सरकार बनेको उनको भनाइ छ । सिंहले वर्तमान सरकार ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको उनको भनाइ छ।
‘राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा (एमाले) मिलेर अरू दलहरूलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो’, उनले भने। अर्को प्रसंगमा उपप्रधानमन्त्री सिंहले कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए। कांग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने उनको भनाइ छ।