ट्याक्टर दुर्घटना : दुई किशोरको मृत्यु, तीन जना घाइते

दाङ । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । बिहीबार बिहान ११ बजे तुलसीपुर–घोराही सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ । दुर्घटनापछि ट्याक्टरले च्यापेको अवस्थामा रहेका दुबै जनालाई उद्धार गरी अस्पताल पुर्याइएको तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए । गम्भीर घाइते उनीहरूलाई नजिकैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । त्यहाँ चेकजाँच गर्ने क्रममा चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक मगरले बताए ।
सोही दुर्घटनामा परी ट्याक्टरमा सवार सोही ठाउँका १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीुपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीको बाँया हातमा चोट छ । प्रहरी स्रोतका अनुसार चालकले मापसे गरेको खुलेको छ । उनको अस्पतालमा मापसे जाँच भइरहेको छ।