कांग्रेस बागमती संसदीय दलको नेता छान्न आज मतदान
मुख्यमन्त्री बन्ने दाउमा बानियाँ

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार आज (बुधबार) मतदान हुनेगरी कार्यतालिका तय गरिएको हो ।
निर्वाचन कार्यक्रम अनुसार, मतदाता नामावली आज बिहान ८ बजे प्रकाशित हुनेछ । नामावलीमा दाबी–विरोध गर्न बिहान ८ः३० देखि ९ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारका लागि दरखास्त दर्ता बिहान १० देखि ११ बजेसम्म हुने छ भने प्रारम्भिक नामावली ११ः३० बजे सार्वजनिक गरिनेछ । उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।
अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ र मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ ।
मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदानपछि तत्कालै मतगणना सुरु हुने र सोही दिन नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ । मंगलबार गठन गरिएको समितिमा संयोजक श्रेष्ठसहित ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य छन् ।
मुख्यमन्त्री बन्ने दाउमा बानियाँ
यो पटक बागमती प्रदेश सभापति एवं प्रदेश सांसद इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्ने लाइनबाट पछि नहट्ने रणनीतिकमा छन् । बानियाँकै नेतृत्वमा मुख्यमन्त्री समेत रहेका बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । मंगलबार संसदीय दलको नेताका लागि भएको मत विभाजनको नतिजाले समेत बानियाँ थप हौसिएका देखिन्छन् ।
बागमतीमा कांग्रेसका ३७ जना प्रदेश सभा सदस्य छन् । लामाको पक्षमा १५ जनाले मत जाहेर गरेका थिए भने २२ जनाले विपक्षमा मत दिएका थिए ।
यसअघि १३ पुस २०७९ मा भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए । त्यस बेला बानियाँले १६ मत पाउँदा लामाले २१ मत पाए। संसदीय दलको नेता हुँदै प्रदेशको मुख्यमन्त्री बने । त्यसैले पनि बानियाँ पुनः मुख्यमन्त्री बन्ने दाउका साथ संसदीय नेताका लागि निर्वाचनमा दोस्रोपटक भिड्न लागेका छन् ।
बानियाँले मत विभााजको नतिजा सार्वजनिक भएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वर्तमान मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए । उनले संसदीय दलको नेताको हैसियतले लामा मुख्यमन्त्री बनेकाले विश्वासको मत गुमाएपछि नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै उनले पहिलो चरणमा अविश्वासको प्रस्तावबारे निर्णय भएको र दोस्रो चरणमा संसदीय दलको नेता चयनको काम कांग्रेस प्रदेश कार्यसमितिले गर्ने बताए । त्यसपछि सरकारबारे निर्णय हुने बानियाँले भनाइ थियो ।
उता मुख्यमन्त्री लामाले भने आफूविरुद्ध प्रपञ्च रचिएको बताए। उनले दलमा विश्वासको मत नपाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताए । उनले संसदीय दलको नयाँ नेता चयनका लागि आफूले दलभित्र छलफल गर्ने बताए ।
बागमती प्रदेश सरकार गठबन्धनमा आधारित रहेकाले सरकार र संसदीय दल फरक–फरक विषय भएको धारणा उनले राखे । मुख्यमन्त्री हुनका लागि दलको नेता हुनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।
बागमती प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय छन् । जसमध्ये सत्ता गठबन्धनमा आबद्ध एमालेका ६ जना मन्त्री र कांग्रेसका ८ मन्त्री छन्। जसमध्ये ५ जना कांग्रेसका प्रदेश मन्त्रीहरू युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले गत शुक्रबार पदबाट राजीनामा दिइसकेका छन् ।
यस्तै मंगलबार खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा दिएका छन् । ११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । एमाले–कांग्रेस समीकरणमा ६४ जना सांसद छन् ।