आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?
2025-07-18-06-46-00.jpg)
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
जसको प्रभावले हाल बागमती प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू साथै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज (बिहीबार) दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ ।
मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।