पतञ्जली जग्गा प्रकरण : पूर्व सचिव पन्तलाई धरौटीमा छाड्न आदेश


२०८२ श्रावण १३ मंगलबार १६:४७ बजे

काठमाडौं । विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई पाँच लाख धरौटीमा छाड्ने आदेश गरेको छ । आज (मंगलबार) विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पन्तसँग पाँच लाख धरौटी माग्ने आदेश गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

पन्तले तत्कालीन अवस्थामा पतञ्जली योगपीठसँग सम्बन्धित जग्गाको हदबन्दी छुट र सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए । यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पन्तविरुद्ध पनि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटी छाड्न आदेश दिइसकेको छ । उनी अहिले अदालतले मागेको धरौटी बुझाएर मुद्दाको पुर्पक्ष गरिरहेका छन् । उनले वारेसको निवेदन दिए पनि विशेष अदालतले नेपाललाई वारेस दिन भने अस्वीकार गरेको छ ।

पूर्व सचिव पन्तले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र मुख्यसचिव माधवप्रसाद घिमिरेको दबाबमा परेर आफूले प्रस्ताव पेस गरेको विशेष अदालतमा बयान दिएका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तत्कालीन सचिव पन्तले भूमिसुधारमन्त्री डम्बरबहादुर श्रेष्ठ र मातहतका कर्मचारीहरूले समेत दबाब दिएको र त्यो आफूले थेग्न नसकेको जिकिर गरेका थिए । 

२०६९ सालमा गठन भएको तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारमा पूर्वसचिव पन्त मन्त्री समेत भएका थिए । ललिता निवास प्रकरणमा समेत मुछिएका उनी विशेष अदालतबाट दोषी ठहर भइसकेका छन् । अख्तियारले उनीविरुद्ध दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो ।

यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख धरौटी छाड्न आदेश दिइसकेको छ ।  कानुन अधिकृत कलानिधि शर्माले मुनाफारहित कम्पनी भनी विश्वासमा पारेकाले आफूले प्रस्ताव अघि बढाएको भन्दै उनले सबै कागजात हेरेर सम्भव नहुने बयान दिएका थिए । विशेष अदालतले कलानिधी शर्मा पौडेललाई २५ हजार धरौटीमा छाडिसकेको छ।

त्यस्तै तत्कालीन मालपोत कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईँ, नायव सुब्बा तुलामणि राजभण्डारी र भूमिसुधार तथा तथा व्यवस्थापन विभागका महानिर्देशक केशरबहादुर बानियाँलाई नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो ।

नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोगपत्रमा दाबी गरिएको छ । ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७