गिरीबन्धु टी स्टेटको जग्गा अरु प्रयोजनमा प्रयोग भए स्वतः सरकारको हुन्छ : भूमिमन्त्री


२०८२ श्रावण १३ मंगलबार १६:३५ बजे
फाइल फोटो

काठमाडौैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापास्थित गिरीबन्धु टी स्टेटको अरु नै प्रयोजनमा प्रयोग भएको पाइए त्यो स्वतः सरकारको हुने बताएका छन् ।

आज (मंगलबार) सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले जग्गा धनीले हदबन्दीभित्रको जग्गाको स्वामित्व लिन पाए पनि बाँकी सरकारको नाममा आउने बताए ।

‘यहाँ गिरीबन्धु टी स्टेटका, के के का कुरा आउँछन्, गिरीबन्धु टी–स्टेट भनेको त्यो चिया बगानका लागि लिएको जग्गा हो, चिया बगान बनाउनका लागि  लिएको जग्गा अर्कोमा परिणत गर्ने कहाँ भनेको छ र ?’, मन्त्री अधिकारीले भने,  ‘त्यो अर्कोमा परिणत गर्न पाइन्न, त्यही उद्देश्यमा काम गर्दैन भने त्यो स्वतः सरकारको हुन्छ ।’

मंगलबार भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि संशोधनकर्ता सांसदसँगको छलफलका क्रममा मन्त्री अधिकारीले प्रयोजन बाहेकको काममा गिरीबन्धु टी स्टेटको जग्गा प्रयोग गरे हदभित्रको बाहेकको जग्गा सरकारको हुने बताएका हुन् ।

मन्त्री अधिकारीले तराईमा १० बिगाहा जमिन व्यक्तिले राख्न पाउने व्यवस्था रहेको जानकारी गराएका छन् । उनले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिइएको र त्यसअनुसार नै जग्गा वितरण हुने बताए ।

भूमिहीन दलित तथा सुकुम्वासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढाइने उनले बताएका छन् । विधेयकमाथि संशोधन दर्ता गराउने सांसदहरुले विचौलियालाई नभइ वास्तविक जनताको समस्या समाधान हुने गरी विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७