प्रधानमन्त्री तुर्कमेनिस्तान भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली फेरि अर्काे विदेश भ्रमणमा निस्किने भएका छन् । स्पेन भ्रमणबाट फर्किएको एक महिना नबित्दै प्रधानमन्त्री ओली साउन तेस्रो साता मध्य एशियाली मुलुक तुर्कमेनिस्तानको भ्रमणमा जान लागेका हुन् । भूपरिवेष्ठित विकाशसील राष्ट्रहरूको तेस्रो सम्मेलन (एलएलडीसी थ्री) साउन तेस्रो साता तुर्कमेनिस्तानको पर्यटकीय सहर अभाजामा हुँदैछ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको यो निकायको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अभाजा जाने भएका हुन् ।
प्रत्येक १० वर्षमा हुने यो सम्मेलन यसअघि ३–५ नोभेम्बर २०१४ (१७–१९ कात्तिक २०७१) मा अस्ट्रियायाको भियनामा भएको थियो । पहिलो सम्मेलन भने अर्काे मध्य एशियाली मुलुक कजाखस्तानको राजधानी अल्माटीमा सन् २००३ मा आयोजना गरिएको थियो । समुन्द्रसँग पहुँच अभावका कारण विश्वव्यापी बजारबाट टाढा रहेका, पर्याप्त यातायात र खाद्यान्नका लागि आवस्यक पूर्वाधार अभाव जस्ता चुनौती सामना गरिररहेका यी मुलुकबीच साझेदारीमार्फत समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघले यो समूहको स्थापना गरेको हो ।
‘एलएलडीसी’ मा रहेका विश्वका ३२ वटा भूपरिवेष्ठित–विकाशील मुलुक आबद्ध छन् । यसमा एसियाबाट १२, अफ्रिकाबाट १५, युरोप र दक्षिण अमेरिकाबाट २–२ देशमा छन् । एसियाली मुलुकमा नेपालसहित अफगानिस्तान, आर्मेनिया, अजरबैजान, भुटान, कजाखस्तान, किर्गिस्तान, लाओस, मंगोलिया, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् । सबैभन्दा धेरै अफ्रिकी मुलुक– बोत्स्वाना, इश्वातिनी, इथियोपिया, लेसोथो, मलावी, माली, नाइजर, रुवाण्डा, दक्षिण सुडान, युगाण्डा, जाम्बिया, जिम्बावे, सेन्ट्रल अफ्रिकल रिपब्लिक, चाड र बुर्किनाफासो छन् । युरोप र दक्षिण अमेरिकाबाट दुई÷दुई देश तथा युरोपका नर्थ म्यासेडोनिया र रिपब्लिक अफ मोल्दोभा (युरोप), दक्षिण अमेरिकाका बोलिभिया र पाराग्वे छन् ।
प्रधानमन्त्री ओली यसअघि संयुक्त राष्ट्रसंघकै विकासका लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन (१५–१९ असार) मा भाग लिन स्पेन पुगेका थिए । सम्मेलन स्पेनको सेभिल्लामा भएको थियो ।
संयुक्त राष्ट्रसंघले ‘एलएलडीसी’ सम्मेलनजस्तै ‘विकासका लागि वित्त’ सम्मेलनपनि प्रत्येक १० वर्षमा आयोजना गर्छ। हरेक १० वर्षमा हुने राष्ट्रसंघअन्तर्गतका दुवै निकायका सम्मेलनमा प्रधानमन्त्री ओलीको सहभागिता रहने संयोग जुरेको हो ।
स्रोतका अनुसार, ‘विकासका लागि वित्त सम्मेलन’ र ‘एलएलडीसी थ्री’ दुवै सम्मेलनका लागि निम्ता आए पनि यसअघि सेभिल्ला (स्पेन) मा भएको सम्मेलनमा प्रधानमन्त्री ओली र अभाजा (तुर्कमेनिस्तान) मा हुने सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने योजना थियो। सन् २०३० सम्म नेपालले दीगो विकास लक्ष्य सम्पन्न गर्नुपर्ने र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भएकाले ‘विकासका लागि वित्त’ सम्मेलनमा प्रधानमन्त्री उपस्थित हुँदा उपलब्धिमूलक हुने ठानेर पहिलो कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका थिए । तर प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जाने औपचारिक घोषणा भइसकेको छैन ।