‘घुस काण्ड’ मा मुछिएका मन्त्री अधिकारीले एक बर्षको उपलब्धी सार्वजनिक गर्दै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन आज (बिहीबार) दिउँसो ३ बजे मन्त्रालयमा हुनेछ । सम्मेलनमार्फत मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१÷०८२ को उपलब्धि सार्वजनिक गर्दैछन् । पत्रकार सम्मेलनमार्फत उनले सार्वजनिक घुस काण्डको अडियोबारे पनि प्रष्टिकरण दिने बताइएको छ ।
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तापछि केपी ओली सरकारका अर्का मन्त्री अधिकारी पनि अडियो प्रकरणमा मुछिएका छन् । उनले ३२ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको एउटा अडियो सार्वजनिक भएको छ । पोखरामा १३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग उनले घुस लिएको दाबीसहितको अडियो बाहिर आएको हो । यसअघि गुप्ताको अडिओमा पनि उनको नाम जोडिएको थियो । गुप्ताले चौतर्फी दबाबपछि पदबाट राजीनामा दिइसकेका छन् भने बलराम अधिकारीमाथि पनि दबाब बढ्दै छ ।
सार्वजनिक अडिओमा मन्त्री अधिकारीको आफ्नै आवाज भने छैन । अडिओमा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल, मन्त्री अधिकारी छोरा मनोज अधिकारीसमेतको नाम लिइएको सुनिन्छ । मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख र सचिव पोखरेलले ५ लाख लिएको दाबी छ । जग्गाका लागि डेढ करोड खर्च भइसकेको अडिओमा सुनिन्छ । अधिकारी भने अडिओमा आफ्नो नाम नभएकाले आफू नमुछिने तर्क गरिरहेका छन् । गुप्ताको अडियो आएपछि जुन औँलामा विष लागेको छ त्यही झर्ने उनले बताएका थिए ।