रास्वपाको हस्ताक्षर अभियान : ४६ लाख चन्दा संकलन, ६० लाख खर्च
हालसम्म साढे २४ लाख हस्ताक्षर संकलन, अब सीमा नाकामा ‘डेस्क’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेका पक्षमा गरिएको हस्ताक्षर संकलन अभियानका क्रममा हालसम्म झण्डै ६० लाख खर्च भइसकेको जनाएको छ । रास्वपाले आज (बिहीबार) पत्रकार सम्मेलन गरी अभियानका लागि छुट्टै कोष सञ्चालन गरिरहेको जानकारी दिएको छ । रास्वपाले सभापति लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध भन्दै देश विदेशमा हस्ताक्षर अभियान चलाइरहेको छ ।
जसका लागि हालसम्म ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको नेता दीपक बोहोराले जानकारी दिए । हस्ताक्षर अभियानसँगै चन्दा समेत संकलन भइरहेको छ । जसअन्तर्गत हालसम्म ४६ लाख १२ हजार ६ सय ३७ रुपैयाँ मात्र संकलन भएको उनले बताए ।
‘यो महँगो अभियान हो । एउटा अपिल छाप्नका लागि २ रुपैयाँ ९० पैसा लाग्छ । हामीले ५ लाख अपिल र २ लाख हस्ताक्षर संकलन फारम छापेर पठाएका छौं । १० लाख अपिल र ५ लाख हस्ताक्षर संकलन फारम छाप्न प्रेसमा दिएका छौं । बोहोराले भने, ‘हालसम्म २४ लाख ५७ हजार ६ सय १८ जनाले हस्ताक्षर गरिसकेका छन् । अहिले पनि हस्ताक्षर गर्ने क्रम चलिरहेको छ ।’ रास्वपाले असार ७ गतेदेखि अभियान सुरु गरेको थियो । यो अभियान कम्तीमा एक सय दिन चल्ने बताएको छ ।
हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितिले अभियानको नेतृत्व गरेका छन् । साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलो गर्नेछन् । अब नेपाल–भारत सीमा नाकाका मुख्य बिन्दु (काँकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिने रास्वपाले जनाएको छ ।
हालसम्म कहाँबाट कति हस्ताक्षर ?
हालसम्म संकलित विवरणअनुसार कोशी प्रदेशबाट एक लाख ६६ हजार ८६१ हस्ताक्षर जुटेका छन् । यस्तै मधेसबाट २० हजार ५०५, बागमतीबाट ६ लाख ३९ हजार ६८, गण्डकीबाट ४ लाख ३२ हजार ७२३ र लुम्बिनीबाट २ लाख ३६ हजार ५९५ हस्ताक्षर संकलन भएका छन् ।
कर्णाली प्रदेशबाट ४३ लाख ७७५, सुदूरपश्चिमबाट ९४ हजार ५३५, केन्द्रीय कार्यालयबाट ३३ हजार ३७०, काठमाडौंका अन्य बुथबाट ५९ हजार ८८५, ह्वास्टएपबाट ६ लाख ५० हजार १७२ र इमेलबाट ८० हजार १७६ हस्ताक्षर संकलन भएको रास्वपाको दाबी छ । हालसम्म जम्मा भएको कूल हस्ताक्षर संख्या २४ लाख ५७ हजार ६१८ छ ।