जनताको करबाट हुने विदेश भ्रमणको उपलब्धी अध्ययन हुनुपर्छ : सांसद नेम्वाङ

काठमाडौं । सत्तारुढ नेकपा एमाले सांसद सुहाङ नेम्वाङले जनताको करबाट हुने विदेश भ्रमणबाट भएका उपलब्धीबारे अध्ययन हुनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल—बेलायत संसदीयमैत्री समूहको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामीले विदेश भ्रमण गरेको नतिजा फलदायी भएको छ की छैन भन्ने कुराको पनि अध्ययन गर्नुपर्छ । जनताको करबाट विदेश भ्रमण गर्ने तर हेरेर आइसकेपछि केही पनि नगर्ने भन्ने आरोप छ । त्यो भाष्यलाई चिरेर विदेश भ्रमणबाट के सिकेर के लागू ग¥यौं भन्ने कुराको अध्ययन गर्नुपर्छ,’ सांसद नेम्वाङले भने ।
अहिलेको संसदीय अभ्यास नैराश्यता र नकारात्मकतामा सीमित हुन थालेको टिप्पणी पनि उनले गरेका छन् । अहिले संसदमा नैराश्यता र नकारातमकता फैल्याउने काम भइरहेको र यसले संसदीय मर्यादामाथि प्रश्न उठाउने जिकिर गरे । ‘यत्तिकै त नैराश्यता र नकारात्मकताको हाम्रो अहिले संसदीय अभ्यास भइरहेको छ । महत्त्वपूर्ण कुराहरू जनताले क्लियरल्ली सुन्न पाउँदा राम्रो हुन्छ । कानुनलाई जीवन्त बनाउने काम भनेको हामी सबैको हो,’ सांसद नेम्वाङले भने ।
‘बेलायतमा भएको संसदीय अभ्यास कुन तरिकाले आफ्नो अभ्यासलाई निरन्तरता दिन्छन्, काम गर्छन् भन्ने हो । हामीले जनता र देशको भूगोललाई मध्यनजरमा राखेर काम गर्नुपर्छ,’ सांसद नेम्वाङले भने, ‘किनभने बेलायतको व्यवस्था यहाँ सिकिरहँदा हुबहु नेपालमा लागू गर्न सक्छौँ की सक्दैनौँ, हुबहु लागू नहुन सक्छ । तर उहाँहरूको ज्ञान र अनुभव लिइरहनु पर्छ ।’ बैठकले वेष्ट मिन्स्टर फाउन्डेसन फर डेमोक्रेसी (डब्लुएफडी) र नेपाल बेलायत चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्दै नीति निर्माणमा अनुभव आदानप्रदान तथा दुई देशका विविध क्षेत्रमा लगानी प्रवद्र्धनका लागि संसदीय कुटनीति प्रयोग गर्ने निष्कर्ष निकालेको हो ।
समूहका संयोजक विराजभक्त श्रेष्ठकाअनुसार वेष्ट मिन्स्टर फाउन्डेसनसँग नेपाल र बेलायतको संसदीय अभ्यास, नीति निर्माणको प्रक्रियाबारे अनुभव आदानप्रदानमा सहकार्य गर्ने समझदारी बनेको छ । यसैगरी नेपाल बेलायत चेम्बर अफ कमर्ससँग दुई देशबीच सम्भावनाका क्षेत्र, लगानी प्रवद्र्वनबारे सहकार्य र मैत्री समूहले संसदीय कुटनीति प्रयोग गर्ने समझदारी बनेको संयोजक श्रेष्ठले बताए । दुवै संस्थासँग सहकार्यको खाका बनाएर अगाडि बढ्ने उनको भनाइ छ ।
मैत्री समूहले नेपाल बेलायत सम्बन्धको संसदीय आयाम, विविध सम्बन्धबारे परराष्ट्र मन्त्रालयसँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा वेष्ट मिन्स्टर फाउन्डेसनका निर्देशक दिनेश वाग्लेले नेपालमा हालसम्म गरेको काम, साझेदारीका ढाँचा तथा भविष्यका योजना बारे प्रस्तुति गरेका थिए । नेपाल–बेलायत चेम्बर अफ कमर्सका प्रमुख राजेन्द्र खेतानले बैठकमा नेपालको लगानी सम्भाव्यता, बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र, दुवै देशबीचको आर्थिक साझेदारीमा रहेका अवसर र चुनौतीहरूबारे धारणा राखे । समूहले नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ बनाउने र संसदीय कूटनीति तथा आर्थिक सहकार्यलाई बलियो बनाउने जनाएको छ ।