भाटभटेनीले टिचिङ अस्पताललाई बनाइदिएको ईएचएस भवन हस्तान्तरण (तस्बिरहरु)
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बनाइदिए मातापिताको नाममा साढे नौ करोडको भवन

काठमाडौं : भाटभाटेनी सुपर मार्केटले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा निर्माण गरेको ईएचएस भवनको हस्तान्तरण गरेको छ ।
अस्पतालको ४३ औँ बार्षिक उत्सवको अवसर पारेर सामेबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा भवन हस्तान्तरण भएको हो। भाट भाटेनीले ९ करोड ५० लाख लागतमा इएचएस भवन निर्माण गरेको थियो।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना स्व. मातापिता वृषबहादुर र धनमाया गुरुङको सम्झनामा नौ करोड ५० लाख रुपैयाँको लागतमा उक्त भवन बनाइदिएका हुन् । भाटभटेनीले शिक्षण अस्पतालमा बनाइदिएको यो दोस्रो भवन हो । ०६८ सालमा पनि भाटभटेनीले १० करोड रुपैयाँ लागतमा त्यहाँ आकस्मिक कक्षको भवन बनाइदिएको थियो ।
हस्तान्तरण कार्यक्रममा गुरुङले अस्पतालको माग अनुसार अतिरिक्त सेवा दिन भवन निर्माण गरेको बताए। ‘२०६८ सालमा आकस्मिक कक्ष राख्ने भवन आवश्यक परेकाले १० करोडको लागतमा निर्माण गरेका थियौँ,’ उनले भने, ‘अस्पताललाई थप सेवा दिन भवन चाहिएको रहेछ, पुनः नयाँ भवन निर्माण गरेर आज हस्तान्तरण गरेका छौँ।’
अध्यक्ष गुरुङले दिनमा पनि आफूहरू मानव सेवामा अग्रसर रहने उनले बताए । ‘भाटभटेनीका तर्फबाट जहिले पनि अग्रपंक्तिमा रहेर देश, जनता र राष्ट्रको सेवामा स्वमनले, राष्ट्रबाट केही पाइन्छ कि भनेर आशा नगरीकन सफा मनले सहयोग गर्न हामी तयार छौँ,’ गुरुङले भने ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईले अस्पताल समय भन्दापछि ओपीडी सेवादेखि परीक्षण सेवा सो भवनबाट सञ्चालनमा ल्याउने बताए।
भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले धन धेरैले कमाए पनि दानपुण्यको काम कमैले मात्र गर्ने गरेको बताए । उनले भने, ‘औधी खुसीको कुरा हो, दानवीर भनेर चिनिएका मीनबहादुरजी, सावित्रा गुरुङजीले फेरि अर्को एउटा महत्त्वपूर्ण दान गर्नुभएको छ, सम्पूर्ण नेपाली जनताको हितको निम्ति । सम्पूर्ण नेपाली जनताले स्वास्थ्योपचार प्राप्त गरून् भन्नका निम्ति ।’
तस्बिरहरु,