रद्द भएको पाँच महिनापछि धुलिखेल–खावा सडकको फेरि ठेक्का


२०८२ श्रावण १ बिहीबार १५:३९ बजे

काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक स्तरोन्नतिको लागि सडक डिभिजन कार्यालय काभ्रेले पाँच महिनापछि फेरि नयाँ ठेक्का आह्वान गरेको छ । यसअघि ठेक्का सम्झौता गरिएको भए पनि निर्माण कार्यमा भएको ढिलासुस्तीका कारण पुरानो ठेक्का रद्द गर्दै नयाँ प्रक्रिया अघि बढाइएको हो । नयाँ ठेक्काअनुसार करिब ४ किलोमिटर लम्बाइको धुलिखेल–खावा खण्ड १४ महिनाभित्र निर्माण सक्नु पर्नेछ ।

यसका लागि निर्माण कम्पनीहरूले ९० लाख रूपैयाँको बैंक ग्यारेन्टीसहित बोलपत्र पेस गर्नुपर्नेछ । सार्वजनिक खरिद व्यवस्थापन कार्यालय (पीपीएमओ) को पोर्टलमार्फत मात्र अनलाइन बोलपत्र दिन सकिने व्यवस्था गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुर, कटुञ्जे शाखाले ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको हो । यसअनुसार, प्राविधिक तथा आर्थिक प्रस्तावहरू २०८२ भदौ २ गते (२०२५ अगस्ट १८) दिउँसो १ बजे खोलिने छन् ।

ठेक्का सम्झौता भने २०८२ साउन २२ गतेपछि गरिने जनाइएको छ । बोलपत्रको वैधता अवधि १२० दिन र बोलपत्र सुरक्षाको वैधता १५० दिन तोकिएको छ । यस खण्डको स्तरोन्नतिमा ग्राभेल, ढल निकास, पर्खाल, डिपीसी र कालोपत्रे कार्य गरिनेछ । सडक डिभिजनले यसपटक योग्य र अनुभवि निर्माण कम्पनीलाई छनोट गर्ने तयारी गरेको छ । कामको गुणस्तर र प्रगतिमा कडाईका साथ निगरानी गरिने जनाएको छ । धुलिखेल बजार हुँदै पाचाखाल नगरपालिकाअन्तर्गतको खावा क्षेत्रमा पुग्ने यो सडक खण्ड अरनिको राजमार्गभित्र पर्दछ । यो सडक खासा नाका जोड्ने महत्वपूर्ण मार्ग समेत हो, जसबाट दैनिक हजारौं यात्रु तथा सवारीसाधन ओहोर–दोहोर गर्छन् । स्थानीय कृषि उपजको ढुवानीमा समेत यो मार्ग उपयोगी मानिन्छ । तर वर्षायाममा हिलो र हिउँदमा धुलोले यात्रुलाई सास्ती दिँदै आएको छ ।

स्थानीयबासीले लामो समयदेखि सडक स्तरोन्नतिको माग गर्दै आएका थिए । केही वर्षअघि ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको लापरबाहीका कारण काम अघि नबढेपछि जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म निराश बनेका थिए । अब पुनः ठेक्का प्रक्रिया अघि बढेसँगै स्थानीयमा केही आशा पलाएको देखिन्छ । सडकको स्तरोन्नति अन्तर्गत ग्राभेल, ढल निकास, पर्खाल, डिपीसी र कालोपत्रे गरिनेछ । सडक डिभिजन कार्यालयकाअनुसार काम सम्पन्न गर्न सक्ने अनुभवी निर्माण कम्पनीलाई छनोट गरिने र यस पटक कामको गुणस्तर र प्रगतिको अनुगमन कडाइका साथ गरिनेछ । अब चुनौती भनेको समयमै, गुणस्तरीय ढंगले काम सम्पन्न गर्नु हो। पटक–पटकको अनुभवले स्थानीय जनताको विश्वास गुम्दै गएकाले यसपटकको ठेक्का कार्यान्वयन सडक डिभिजनको लागि परीक्षा जस्तै बनेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७