घटेनन् सवारी दुर्घटनाका घटना


२०८२ असार ३० सोमबार ११:५५ बजे

कञ्चनपुर । शुक्रबार साझ कञ्चनपुरको बेदकोट नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन दुर्घटना हुँदा शुक्लाफाँटा नगरपालिका–१० का ललित जोशीको मृत्यु भयो । त्यसको केही दिनअघि सोही स्थानमा सवारी साधनको ठक्करबाट भीमदत्त नगरपालिका – १५ का दिपेन्द्र चन्दको मृत्यु भयो । सोही दिन शुक्लाफाँटा नगरपालिका–१ स्थित बसको ठक्करबाट सोही स्थानका द्रोपति भट्टको मृत्यु भयो । एक सातामा मात्रै सवारी दुर्घटनाबाट तीन जनाले ज्यान गुमाइसकेका छन् । 

जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्क हेर्दा कञ्चनपुरमा सडक दुर्घटना बढ्दो छ ।  सवारीसाधन दुर्घटनामा परी हरेक वर्ष धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन । गत असारमा मात्रै ६३ सडक दुर्घटनाबाट तीन जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको हालसम्म चार सय ४३ वटा सवारी दुर्घटना भएका छन् । जसमध्ये ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५६ सवारी दुर्घटना भएका छन् । यसमध्ये ३२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । जसमा ४५ जना गम्भीर घाइते भएका थिए, भने २९ जना सामान्य घाइते भएका थिए । 

त्यसैगरी सवारी दुर्घटनाबाट ६ वटा चौपायाकोसमेत मृत्यु भएको छ । आर्थिक वर्ष २०७९/२०८० मा ६३ वटा सवारी दुर्घटना हुँदा ४३ जनाको मृत्युभयो भने ५९ जना घाइते भए । आर्थिक वर्ष २०७८/७९ मा ९३ सडक दुर्घटना भएकोमा ३५ जनाको मृत्यु भएको छ, भने ६३ घाइते भएका छन । जिल्ला ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी दुर्घटना हुनेमा मोटरसाइकल छ । तीन वर्षमा  पाँच सय १४ मोटरसाइकल दुर्घटना भएका छन् । 

सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैया बताउँछन् । ‘साघुँरा सडकमा सवारीसाधनको अत्यधिक चाप छ’, उनले भने, ‘त्यसमा पनि चालकले ट्राफिक नियमको पालना नर्गदा सवारी दुर्घटना बढ्दै गएका छन् ।’ उनले सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले विद्यालय र चालकसँग सचेतना कार्यक्रम गर्दै आएको बताए । 

‘अहिले विद्यालयमै गएर विद्यार्थीलाई ट्राफिक नियमको डमो देखाउने गरेका छौँ ।’ उनले भने, ‘विभिन्न समयमा चालकहरुसँग पनि सचेतना कार्यक्रम गर्दै आएका छौँ ।’ यहाँका स्थानीय विष्णु जोशी भने सवारी दुर्घटनामा राज्य र नागरिक उत्तिकै दोषी देख्छन् । ‘सवारी चालक स्वयम् सचेत भए दुर्घटना न्यूनीकरण हुन्छ’, उनले भने, ‘चालकले थाहा पाएर पनि ट्राफिक नियम मान्दैन, त्यसको नियमन गर्ने निकाय मौन छ ।’ उनले  अहिले पनि बजारमा तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेका कारण दुर्घटना हुने गरेको बताए । 

चालकले ट्राफिक नियम उल्लङ्घन गर्दा दण्ड र जरिवाना हुन नसक्दा लापरबाही बढ्दै गएको अर्का स्थानीय सरस्वती भट्ट बताउँछिन् । ‘सवारी दुर्घटना हुँदा जसले गल्ती गरेको हो उसलाई कारबाही हुनुको साटो जहिले पनि ठूलो सवारीको गल्ती देखिन्छ, नियम त पैदलयात्रीले पनि पालना गर्नुपर्ने होला ।’ उनले भनिन्, ‘फितलो कानुनका कारण पनि चालक र पैदलयात्रु दुबैले लापरबाही गरेको हुन्छ ।’ उनले सवारी दुर्घटनामा मानवीय क्षति भए पनि आर्थिक लेनदेनमा कुरा मिलेर चालकलाई कारबाही नहुने भएका कारण पनि चालकले लापरबाही गर्ने गरेको बताइन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७