मन्त्री गुप्ताको घोषणा : घुस लिएको प्रमाणित भए नागरिकता त्यागेर देश छाड्छु


२०८२ असार ३० सोमबार १३:३० बजे

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लागेको घुस प्रकरणको खण्डन गर्दै आरोप प्रमाणित भए आफूले नागरिकता नै त्यागेर देश छाड्ने घोषणा गरेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा आक्रामक रूपमा प्रस्तुत हुँदै मन्त्री गुप्ताले आफूविरुद्ध सार्वजनिक भएको अडियो आफ्नो नभएको र यो आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्र मात्र भएको जिकिर  गरे ।

कर्मचारी सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तिमा घुस लेनदेन गरेको भन्दै करिब १० मिनेट लामो अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा मुछिएका छन् ।  सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परिसकेको छ । मन्त्री गुप्ताले भने, ‘मलाई तथ्य र प्रमाण दिनुस्, म अहिले राजीनामा दिन्छु । यदि त्यो अडियो मेरो हो भनेर प्रमाणित भयो भने । म राजनीति मात्र होइन, नागरिकता छोडेर नेपालै छोड्छु ।’

उनले आफूविरुद्धको अडियो प्रविधिको दुरुपयोग गरेर बनाइएको हुन सक्ने दावी गर्दै आफूले कसैबाट एक कप चिया समेत नखाएको जिकिरे गरे । ‘म टुँडिखेलमा झुण्डिन तयार छु तर मैले गल्ती गरेको छैन,’ उनले भने । मन्त्री गुप्तामाथि दुईवटा प्रमुख आरोप लागेका छन् । पहिलो, मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्नका लागि ५३ लाख रुपैयाँ घुस लिएको र दोस्रो, एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गर्न २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएको हो ।

असार १० गते नै अख्तियारमा दर्ता भएको उजुरीमा घुस रकम राखिएको भनिएका दुई झोला र नोटका बन्डलसहितको फोटो समेत समावेश गरिएको छ । अडियोमा एक महिला र बिचौलियासँग मन्त्री गुप्ताले आर्थिक लेनदेनको कुरा गरिरहेको सुनिन्छ । सार्वजनिक अडियोमा मन्त्री गुप्ताले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको नाम समेत मुछेका छन् ।
‘भन्दिनु त बलरामलाई,’ जस्ता संवादले अधिकारीको पनि संलग्नताको आशंका उब्जाएको छ । यद्यपि मन्त्री अधिकारीले भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको र आरोप आधारहीन भएको प्रतिक्रिया दिएका छन् । मन्त्री गुप्ताको घुस प्रकरण सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले गम्भीर चासो व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे बुझेर आवश्यक कदम चाल्ने तयारी गरेको स्रोतले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७