कांग्रेस र एमालेले संसदलाई ‘विचौलियाको खेल मैदान’ बनाए : प्रचण्ड
‘नेपालका हिमाली क्षेत्र जलवायु संकटको विष्फोटक केन्द्र जस्तो बन्न थाले’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गरे ।
‘के हामी शान्ति सम्झौताका बेला देखिएको सपना अनुसार अघि बढिरहेका छौं ?’, भन्ने प्रश्न गर्दै भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको र पछाडि पारिएका समुदायलाई राज्यले आवश्यक संरक्षण दिन नसकेको उनले बताए । संसद र संसदीय समितिमा भइरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै उनले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै चर्को आलोचना गरे । अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेको मिलोमतोले संसदलाई ‘विचौलियाको खेल मैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे ।
उनले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विष्फोटक बन्न सक्ने चेतावनी दिए । उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरू जस्ता घटनाहरूको उदाहरण दिँदै सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।
‘नेपालका हिमाली क्षेत्र जलवायु संकटको विष्फोटक केन्द्र जस्तो बन्न थाले’
माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको बाढी पहिरोका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै सरकारले तत्काल विपद् प्रतिकार्यलाई सशक्त बनाउनु पर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकमा रसुवालगायत देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै प्रचण्डले नेपालको हिमाली क्षेत्र जलवायु संकटको विष्फोटक केन्द्र जस्तो बन्दै गएको प्रति चिन्ता व्यक्त गरे ।
उनले हिमताल फुटेर आउने बाढी, नदी थुनिएर जलप्रवाह बढ्ने अवस्था र हिमाली पर्यावरणको जोखिम न्यूनीकरणका लागि अन्तरदेशीय सूचना प्रणाली र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए । गत वर्ष राजधानीमै चार घण्टा उद्धार नपाएर नागरिकको मृत्यु भएको घटनालाई स्मरण गर्दै यस वर्ष थप क्षति हुन नदिन सरकारलाई गम्भीर तयारीमा जुट्न आग्रह गरे । ‘विपद व्यवस्थापन सामूहिक जिम्मेवारी हो,’ प्रचण्डले भने, ‘हाम्रो पार्टी, माओवादी केन्द्र, वाईसीएल र जनवर्गीय संगठनहरू प्रभावित क्षेत्रमा सक्रिय छन् ।’