‘सदन स्थगित गरेर रास्वपा र राप्रपालाई पनि आउने वातावरण बनाऔं’

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको नियमित कारबाहीमा सबै दलले भाग लिने वातावरणका लागि ध्यानाकर्षण गराएका छन् । दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा उनले संसद्लाई विरोधको थलो नभई, समाधानको मञ्च बनाउनु पर्ने बताए ।
‘अनन्तकालसम्म संसद् अवरोध हुनु समाधान होइन, अझ संसदको चौंथो र पाँचौँ राजनीतिक शक्ति नियमित छलफलमा सहभागी नहुनु दुःखद छ । म सरकार, सत्तापक्षमा रहेका राजनीतिक शक्तिहरू, प्रमुख प्रतिपक्षी तथा संसदको नियमित छलफलमा सहभागी नभएका राजनीतिक दलहरूलाई पुन एक पटक वार्ता र संवादमा बस्न अपिल गर्दछु । आवश्यक व्यवस्थापन तथा सहजीकरणको लागि सभामुखको तर्फबाट मेरो पहलकदमी रहनेछ ।’
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले रास्वपासँग सहमति गर्न धेरै प्रयास भए पनि नतिजा नआएको बताए । अब केही समय संसद स्थगित गरेर पनि रास्वपा र राप्रपासँग सहमति गरी संसदमा भाग लिने वातावरण बनाउनु पर्ने उनको भनाइ थियो । कांग्रेस आवश्यक सहजीकरणको लागि तयार रहेको घिमिरेले बताए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले दुई साता बैठक रोकेर दलहरूबीच साझा सहमति गरेर अघि बढ्नुपर्ने औंल्याए ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अवरोधबीच सदन अघि बढाउँदा सन्देश राम्रो नगएको भन्दै महत्वपूर्ण विधेयक नभएको अवस्थामा साउनमा दुई साता बैठक रोकेर सहमतिको वातावरण बनाउनु पर्नेमा जोड दिए । राप्रपाका ज्ञानबहादुर शाहीले बजेट पास अत्यावश्यक भए पनि नियमित बैठक चौंथो र पाँचौँ ठूलो दलको अनुपस्थितिमा सञ्चालन गर्नु राम्रो नभएको टिप्पणी गरेका छन् । बैठकमा एमालेबाट सचेतक सुनिता बराल उपस्थित थिइन् । बैठकले साउन १५ गतेसम्मको क्यालेन्डरमा सहमति गरेको छ ।