म्याग्दीका छ विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला


२०८२ असार ३० सोमबार १३:२० बजे

म्याग्दी । म्याग्दीका छ वटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । धवलागिरि गाउँपालिका–७ शिवाङको हेम नमूना आवासीय मावि, मङ्गला गाउँपालिका–२ बाबियाचौरको मङ्गला मावि, रघुगङ्गा गाउँपालिका–३ पिप्लेको रघुगङ्गा मावि र अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग माविमा २१÷२१ वटा कम्प्युटरको व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको हो । 

रघुगङ्गा गाउँपालिका–४ दग्नामको जनता माविमा ११ र वडा नं ६ ठाडाखानीको मालिका आधारभूत विद्यालयमा १० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको छ । क्वालिटी एजुकेसन नेपाल, अस्ट्रेलिया र एजुटेक नेपाल, न्युजिल्यान्डको आर्थिक सहयोगमा समृद्ध ग्रामीण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)ले संयोजन गरेर रु ४८ लाखको लागतमा प्रयोगशाला स्थापना भएको हो । 

विद्यालयको पठनपाठनमा प्रयोग हुने विद्युतीय पाठ्यक्रम र पुस्तक राखिएको कम्प्युटरका साथै विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्थाका लागि ब्याट्री र इनभर्टर पनि जडान गरिएको लर्न संस्थाका निर्देशक कृष्ण तिलिजाले जानकारी दिए । गत वर्ष धवलागिरि गाउँपालिका–४ मुदीको बुद्धिविकास मावि, रघुगङ्गा–३ मौवाफाँटको ज्ञानोदय र अन्नपूर्ण–४ को प्रभा माविमा ‘सर्भर सिस्टम’ बाट चल्ने २०-२० वटा कम्प्युटर जडान गरेर प्रयोगशाला स्थापना भएको थियो । 

निर्देशक तिलिजाका अनुसार आधुनिक कम्प्युटर ल्याबका रूपमा स्थापना गरिएको कम्प्युटर कक्षलाई ‘डिजिटल’ साक्षरताका रूपमा विकास गर्न उपयोग गरिनेछ । प्रविधिको प्रयोग गरेर पठनपाठन गराई विद्यार्थीको पढाइप्रति रुचि र सिकाइ उपलब्धि वृद्धि गर्ने कम्प्युटर प्रयोगशाला स्थापना गर्नुको उद्देश्य रहेको छ ।  विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएपछि विद्यार्थीलाई प्रयोगात्मक अभ्याससहित कम्प्युटर विषयको पठनपाठन गराउन सहज हुने मुक्ति मार्ग मावि घारका प्रअ रामकृष्ण खड्काले बताउनुभयो । कम्प्युटर प्रयोगशाला स्थापनाका लागि फर्निचर, फर्निचर, पर्दा, कार्पेट, कक्षाकोठा व्यवस्थापनको काम भने विद्यालयहरूले नै गरेका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७