रास्वपाको पार्टी पंक्तिलाई आह्वान : विपदका घटना हुँदा उद्धार र राहतमा जुट्नू


२०८२ असार ३० सोमबार ११:०८ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् न्यूनीकरण र घटनापछि उद्धार तथा राहत वितरणमा जुट्न आह्वान गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विज्ञप्ति निकालेर पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा यस्तो आह्वान गरेका हुन्।

मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको विज्ञप्तिमा उल्लेख छ। मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा सबै थप सचेत र पूर्व तयारीमा जुट्नु पर्ने आवश्यकता टड्कारो देखिएको भनिएको छ। पार्टीका कार्यवाहक सभापति अर्यालले के गर्ने भनेर समेत सुझाएका छन्।

१. विपद् पूर्वको तयारी

आ–आफ्नो क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको जोखिममा रहेका स्थानहरूको पहिचान गरी स्थानीयवासीलाई सचेत गराउने ।
स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना) र स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्ने ।
तत्काल आवश्यक पर्ने सामग्रीहरू (जस्तैः त्रिपाल, डोरी, टर्चलाइट, प्राथमिक उपचार बाकस, ड्राइफुड) को व्यवस्थापनका लागि स्वयंसेवी रूपमा तयारी गर्ने ।
हरेक वडा तथा पालिकास्तरमा ’स्वयंसेवक समूह’ तयारी अवस्थामा राख्ने ।
सामाजिक सञ्जाल र अन्य माध्यमबाट विपद् पूर्व अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक सन्देशहरू प्रवाह गर्ने ।
२. विपद् पश्चातको प्रतिकार्य

घटना भएको जानकारी पाउनासाथ स्थानीय निकाय र सुरक्षाकर्मीसँगको समन्वयमा तत्काल उद्धार कार्यमा जुट्ने ।
पीडित तथा प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न र अस्थायी आश्रयस्थलको व्यवस्थापनमा सहयोग गर्ने ।
संकलन भएका राहत सामग्रीहरू (खाद्यान्न, लत्ताकपडा, औषधि, स्वच्छ पानी) को निष्पक्ष र पारदर्शी ढंगले वास्तविक पीडितसम्म पुर्‍याउने व्यवस्था मिलाउने ।
घाइतेहरूको प्राथमिक उपचार र अस्पतालसम्म पुर्‍याउन सहजीकरण गर्ने ।
प्रभावितहरूको तथ्याङ्क संकलनमा स्थानीय तहलाई सहयोग गरी कोही पनि नछुटुन् भन्ने सुनिश्चित गर्ने ।
विपद्को घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको रास्वपाका कार्यवाहक सभापति अर्यालले बताएका छन् ।

उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अपिल गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७