सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौं : नेता श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढाएको बताएका छन् । संयुक्त राज्य अमेरिकाको लस एन्जेल्समा आयोजित नेपाली समुदायसँग भएको भेटमा पूर्व उपप्रधामन्त्री श्रेष्ठले तत्कालीन सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानले आमजनतामा आशा जगाउन सकेको बताए ।
पार्टीलाई सुदृढीकरण गर्दै जनतासँग जोड्नका लागि हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको उल्लेख गर्दै उनले माओवादी जनताको सेवक भएको बताए । कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले नेपालको वर्तमान राजनीतिक परिस्थिति, समृद्धिको कार्यभार, चुनौती तथा सम्भावना, गैरआवासीय नेपाली नागरिकताको व्यवस्था तथा नेपाली डायस्पोराको भूमिकाबारे धारणा राखेका थिए । कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, इन्जिनियर, चिकित्सक, प्राध्यापकलगायतको सहभागिता थियो ।