प्रधानमन्त्री भन्छन्–राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न किन डराउने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै प्रचार गर्न डराउनु नपर्ने बताएका छन् । आज (सोमबार) काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन् । यसअघि पनि पटक–पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गर्दै आएका थिए । कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उनको भनाइ छ । राम जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसावले पनि अन्यत्र हुन नसक्ने उनको दाबी छ । अरु रिसाउँछ भनेर रामको जन्मभूमि नेपाल हो भन्नबाट डराइरहेको भन्दै नडराइकन रामको जन्भूमि नेपाल हो भन्न आग्रह उनले गरे । यो आफूले नभई वाल्मिकीकृत रामायणमा लेखिएको उनको भनाइ छ ।
‘हामी टुरिजमको कुरा गर्छौं । तर नेपालमा राम जन्मिएका अन्त कसैले त्यत्तिकै कथा हालेर हुन्छ । फलानो ठाउँमा जन्मिएका भनेर । राम जन्मिएको नेपालमा हो । नेपालको भूमिमा पर्छ, त्यो ठाउँ अहिले । उसबेला पनि नेपालै थियो भन्दिनँ म । के थियो, के थिएन, थारु गाउँ थियो की ? के थियो । तर अहिले त्यो भू–भाग नेपालमा पर्दछ । राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नै कुरा हो । जसले रामलाई भगवान मान्छ, रामको जन्मभूमि पवित्र छ । यति प्रचार गर्न सक्दैनौँ हामी । यति भन्न सक्दैनौँ । यति आँट गर्दैनौँ । अफ्ठ्यारो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘शिव यहींका हुन्, विश्वामित्र यहींका हुन् । मैले लेखेको होइन नि रामायण, वाल्मिकीकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ । मैले लेखेको होइन त्यो । विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ ।’ प्रधानमन्त्री ओलीले पर्यटन बोर्डले नेपालको प्रचार गर्न विदेश जानुपर्ने काम नरहेको बताएका छन् । अनलाइनका माध्यमबाट नेपालबाटै प्रचारप्रसार गर्न सकिने उनको भनाइ थियो ।