यस वर्षको छिन्नलता गीत पुरस्कार राजेन्द्र रिजाललाई

काठमाडौं । यस वर्षको छिन्नलता गीत पुरस्कार वरिष्ठ गीतकार राजेन्द्र रिजाललाई प्रदान गरिएको छ । गीत पुरस्कार गुठीद्वारा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले रिजाललाई सम्मानपत्र र रु एक लाखसहित उक्त पुरस्कार प्रदान गरेका हुन् ।
यसैगरी एक लाख राशिको संगीततर्फको छिन्नलता पुरस्कार आभास (अच्युतप्रसाद फुयाल) लाई र एक लाखकै गायनतर्फको पुरस्कार रामभक्त जोजिजु र इतु जोजिजुलाई संयुक्त रूपमा प्रदान गरियो । साथै ५० हजार राशिको युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायक एसडि योगीलाई प्रदान गरिएको जनाइएको छ । त्यस अवसरमा सभामुख घिमिरेले राष्ट्रिय भाव उत्पन्न गर्ने सिर्जनाहरु छिन्नलताको विशेषता भएको बताए । गीतकार राजेन्द्र रिजालले पुरस्कारबाट आफूलाई थप हौसला मिलेको बताए ।