पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको घुइँचो


१८:४३ बजे

पर्वत । हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको बिरुवा रोपी प्रजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ । आजैदेखि चर्तुमास पर्व पनि सुरु हुँदैछ । महत्वपूर्ण पर्व आषाढ शुक्ल एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ । जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल मोदीवेणी, सेतीवेणीधाम, पुर्तिघाट, गोपाङ, नयाँपुल, खनियाघाट, मिलनचोक, वारीबेनीलगायत नदी तटमा बिहानैदेखि स्नान गर्नेको मेला लागेको हो ।

मोदी नदी र पवित्र मानिने कालीगण्डकी नदीको सङ्गमका रूपमा रहेको मोदीवेणीधाममा भजनकीर्तनसहित विशेष कार्यक्रम पनि राखिएको छ । त्यसैगरी, पर्वत, स्याङ्जा र गुल्मी तीन जिल्ला तथा गण्डकी र लुम्बिनी प्रदेशको सिसमानामा रहेको शालिग्राम शिला रहेको सेतीवेणीमा पनि स्नान गर्न टाढाटाढाबाट श्रद्धालु आइपुगेका छन् । मोदीवेणीमा  स्नान गर्न पर्वत, बागलुङ, स्याङ्जा र कास्कीबाट हजारौँका सङ्ख्यामा श्रद्धालु आउने गर्छन् भने सेतीवेणीमा पनि बागलुङ, पर्वत, पाल्पा, अर्घाखाँची, स्याङ्जा र गुल्मीबाट श्रद्धालुहरू आएका छन् ।

मुक्तिनाथबाट बगेर आएको र साक्षात् विष्णुको अवतारका रूपमा पुजिँदै आएको शालिग्राम पाइने एकमात्र नदी भएकाले कालीगण्डकीमा स्नान गरी मोदीवेणी परिसरमा रहेको नृसिंह मन्दिरमा पूजा गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । कालीगण्डकीमा स्नान गरेमा एक हजार गाई दान गरेबराबरको पुण्य मिल्ने भक्तजनको भनाइ छ । हरिशयनी एकादशीका अवसरमा मोदीवेणी र सेतीवेणीमा भजनकीर्तनसमेत आयोजना गरिएको छ । आजैका दिन कालीगण्डकीमा स्नान गरेर फर्केपछि घरघरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने प्रचलन रहेको छ । तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले निकै महत्वपूर्ण मानिन्छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७