कांग्रेस नेता सिटौलाको टिप्पणी : कर्मचारीलाई विश्वास गर्दा मुलुक बिग्रियो

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कर्मचारीलाई मात्रै जुनसुकै क्षेत्रमा क्षमतावान देख्दा मुलुक बिग्रिएको टिप्पणी गरेका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीमा रहेका क्षमतावान धेरै पढे लेखेका, पीएचडी गरेका, डाक्टर, इन्जिनियरहरूलाई विश्वास गर्न नसक्दा समस्या देखिएको सिटौलाले बताए ।
‘क्षमता खाली कर्मचारीमा मात्रै किन देख्छौँ हामीले ? हाम्रै पार्टीमा यति धेरै पढे लेखेका, पीएचडी गरेका, डाक्टर, इन्जिनियर अरू थुप्रै विषयका साथीहरू हुनुहुन्छ तर हामीले त्यो विषय खोज्दैनौँ,’ सिटौलाले भने, ‘ठ्याक्कै कर्मचारी भेटिहाल्छौँ । कर्मचारी भएपछि अरू नखोज्ने हाम्रो प्रवृत्ति भयो । कर्मचारीले नै काम बिगारेको छ ।’ उनले अहिले पनि पञ्चायतकालीन प्रशासनका कुनै नयाँ भिजन नभएका मान्छे लिएर प्रशासनमा काम चलाइरहेको बताए । निजामती कर्मचारीको विधेयकमा शब्द थपिएकोबारे पार्टीका समितिमा भएका सांसदहरूलाई थाहा नहुनु लापरबाही रहेको सिटौलाले बताए ।
‘निजामती कर्मचारी विधेयकमा हाम्रो तर्फबाट लाइन÷लाइन हेर्ने काम भएको छैन । ठुलो लापरबाही भएको छ । कर्मचारीमाथि अत्यन्त ठुलो ट्रस्ट भएको छ,’ सिटौलाले भने, ‘अब त्यति बिगारेपछि पनि त्यही प्रशासनलाई लिएर हामी परिवर्तनलाई टिकाउन खोज्छौँ भने उनीहरूमाथि विश्वास गर्ने आधार चाहिँ के त अब ?’ यस्तो अवस्थालाई सिरियसली सोच्नुपर्ने सिटौलाले बताएका छन् ।आफूहरूले परिवर्तन ल्याए पनि परिवर्तनलाई हाँक्ने प्रशासन बनाउन असफल भएको उनको भनाइ छ । राज्य सञ्चालनको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने उनको धारणा छ । ‘न्याय सम्पादनको कुरा समीक्षा गरौँ । न्यायपालिकाको कुरा समीक्षा गरौँ, संविधान बलियो बनाएर समीक्षा गरौँ । संविधान संशोधनले गर्ने नीतिहरूबारे समीक्षा गरौँ । हामीले क्षमता खाली कर्मचारीलाई मात्रै किन देख्छौँ। यसमा पनि समीक्षा हुन जरुरी छ ।’