पूर्व राष्ट्रपति राजनीतिमा फर्केको विषय कांग्रेसले नोटिसमा राख्नु पर्छ : विमलेन्द्र निधि

काठमाडाैं । सत्ता साझेदार नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्व राष्ट्रपति राजनीतिमा फर्केको विषयलाई पार्टीले नोटिसमा राख्नुपर्ने बताएका छन् । पूर्व राष्ट्रपति राजनीतिमा फर्किने विषय पार्टी विशेषको मात्र नभई प्रणालीसँग नै जोडिने पनि निधिले बताएका छन् ।
सानेपामा आज (आइतबार) बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै निधिले भने, ‘अहिले एउटा विषय आएको छ सभापतिजी, रिटायर्ड राष्ट्रपतिले राजनीतिमा फर्किने । एमालेका लागि यो आन्तरिक प्रतिस्पर्धामा प्रभाव पर्ने वा नपर्ने विषय होला । तर मेरो बुझाइ के छ भने–यो कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन । यो प्रणालीसँग सम्बन्धित विषय हो । हामीले जुन प्रणाली ल्याएका छौं, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि हामीलाई त खुशी लाग्छ एमाले विभाजित हुन्छ कि टुक्राटुक्रा हुन्छ कि त्यो फरक विषय हो । तर सिस्टमको बारेमा कांग्रेसले यो नोटिसमा लिनुपर्छ ।’ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हालै नेकपा (एमाले) मा सदस्यता नवीकरण गरेको भन्दै सक्रिय राजनीतिमा फर्केको बताएकी थिइन् ।