निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने पक्षमा सरकार छ : मन्त्री खड्का
‘सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिँदैन’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई सँगै लिएर ट्रान्समिसन लाइन बनाउने गरी सरकार अघि बढेको बताएका छन् । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सबै ठाउँमा ट्रान्समिसन लाइनको सुनिश्चितता गरेर सरकार अघि बढिरहेको दावी गरे । उनले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन नसक्ने ठानेर नै सरकारले निजी क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमले आबद्ध गरेर अघि बढेको बताए ।
विद्युत् विधेयक रोक्नुपर्ने कुनै आवश्यकता नरहेको पनि बताए । मन्त्री खड्काले भने, ‘अहिले सरकारले एक्लै ट्रान्समिसन लाइन बनाउन सक्दैन । त्यसैले हामीले प्राइभेट क्षेत्रलाई पनि ट्रान्समिसन लाइन बनाउने किसिमको आबद्ध गरेर अघि बढाइसकेका छौं । अब ट्रान्समिसन लाइनको पनि समस्या हुँदैन । अलग ढंगले व्याख्या भएका कारणले केही द्विविधा सिर्जना भएको हो । त्यो कुरा सम्बोधन भइसकेको छ । विद्युत् विधेयक रोक्नुपर्ने कुनै आवश्यकता छैन । न मन्त्रालय र सरकारको धारणा छ, न समितिको । योभन्दा अघि पनि जलस्रोत विधेयक टुंग्याइहालौं भन्ने गरी अघि बढेका हौं । अहिले पनि नवीकरणीय ऊर्जा र विद्युत् विधयेक हामी कहाँ छ । यसलाई एकै चोटि गरौं । नवीकरणीय ऊर्जामा धेरै छलफल भइसकेकाले यसमा धेरै छलफलको आवश्यक छैन जस्तो लाग्छ ।”
‘सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोडिँदैन’
राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का नतोडिने भएको छ । सञ्चारमाध्यमहरुमा सुनकोशी मरिण डाइभर्सनको ठेक्का तोड्न लागेको समाचारहरु आइरहेका बेलामा सरकारले तत्काल ठेक्का नतोडिने बताएको हो । आइतवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ३१ महिना काम भइसकेको र २ वर्ष जति समय बाँकी रहेको बताए । कुल १५ प्रतिशत काम पूरा भएको ठेकेदारको दाबी रहेको बताए ।