दलाई लामाको बहुरङ्गी दावी : तथ्यमाथि झूठ र भ्रम हावी

६५ वर्षभन्दा लामो समयदेखि भारतमा निर्वासित जीवन बिताइरहेका १४औं दलाई लामाको पछिल्लो अभिव्यक्तिप्रति चीनले कडा आपत्ति जनाएको छ । तिब्बती बौद्ध धर्मावलम्बीको भावनालाई कुल्चेर पुनर्जन्मको परम्परा नमान्ने उनको पछिल्लो धारणा राजनीतिक उद्देश्यबाट प्रेरित र परम्परागत तिब्बती बौद्ध धार्मिक प्रक्रियाविरुद्ध रहेको बताइएको छ । दलाई लामाको सो अभिव्यक्ति तिब्बती बौद्ध अनुयायीहरूको भावनामा ठेस पुर्याउनतर्फ उध्यत रहेको चीनको आरोप छ । यस्तो व्यवहार कानुनको उल्लंघन मात्र नभई धार्मिक अपमानसमेत भएको ठहर्याइएको छ ।
भारतको धर्मशालाबाट हालै गरिएको घोषणालाई तिब्बती बौद्ध धार्मिक समुदायले अस्वीकार गरेपछि दलाई लामा इतिहासको पानामा गुमनाम हुने चीनको निश्कर्ष छ । चीन सरकारले तिब्बती बौद्ध परम्परामा कायम पुनर्जन्म प्रथामा सरकारले हस्तक्षेपको सट्टा कानुनी नियमन मात्र गर्दै आएको प्रष्ट पारेको छ ।
सम्बन्धित बालकको खोजी र पहिचान सिचाङ (तिब्बत) का बौद्ध गुम्बा र धार्मिक संस्थाहरूले परम्परागत तरिकाले गर्ने व्यवस्था छ । सरकारको भूमिका सार्वजनिक सरोकार र राष्ट्रिय हितसँग सम्बन्धित धार्मिक गतिविधिहरूको प्रशासनिक समीक्षा तथा अनुमोदनमा मात्र सीमित रहेकाले सरकार आफैंले पुनर्जन्म निर्धारण नगर्ने उसको भनाइ छ ।
दलाई लामाको पुनर्जन्म चीनको आन्तरिक मामला भएकाले यसमा कुनै पनि देश,शक्ति वा व्यक्तिले हस्तक्षेप गर्न नसक्ने चीनले प्रष्ट पारेको छ । संसारका अरु कतिपय देशमा समेत राज्यद्वारा धार्मिक प्रशासनको अभ्यास सामान्य ढङ्गबाट हुने गरेको छ । चीनमाथि ‘नास्तिक शासनद्वारा धार्मिक हस्तक्षेप’ को आरोप लगाउनुमा कुनै तुक नरहेको चीनको आधिकारिक धारणामा उल्लेख छ । भनिएको छ, ‘धार्मिक मामिलाको प्रशासन राज्यका सार्वभौम अधिकारको अभ्यास हो,जसको उद्देश्य धार्मिक स्वतन्त्रता सुनिश्चित गर्नु हो ।’
भारतमा निर्वासित र पश्चिम संसारको सहयोगमा सञ्चालित दलाई समूहले ‘पुनर्जन्म समाप्त गर्ने,’ ‘बाँचुञ्जेल पुनर्जन्म हुने,’ ‘महिला वा जनावरको रूपमा पुनर्जन्म हुने’ जस्ता धारणा राखेकोमा चीन क्रुद्ध देखिन्छ । दलाई समूहका त्यस्ता कुरा बौद्ध धर्मको स्वस्थ विकासभन्दा पनि राजनीतिक उद्देश्यलाई केन्द्रमा राखेर गरिएको चीनले ठहर्याएको छ । हालका १४औं दलाई लामाले गरेको आगामी दलाई लामाको पुनर्जन्म ‘चीन बाहिर हुने’ भन्ने दावीलाई हास्यास्पद र तिब्बती ऐतिहासिक परम्पराविरोधीको संज्ञा दिइएको छ ।
१४ औं दलाई लामाले आफ्नो परोपकारी संस्था गादेन फोड्राङलाई आफ्नो भविष्यको पुनर्जन्म छनौट गर्ने अधिकार दिएका छन् । यस अघिसम्म उनी आफैंले पुनर्जन्मबारे बताउने जानकारी दिँदै आएका थिए । दलाई लामाको पछिल्लो राजनीतिक गन्धयुक्त घोषणाले शताब्दी पुरानो परम्परा र संस्था उनको मृत्युपछि समाप्त हुनेछ भन्ने वर्षौंदेखिको अनुमानलाई पनि अन्त्य गरिदिएको छ । उनैले भनेका छन्, ‘म पुष्टि गर्छु दलाई लामाको संस्था (गादेन फोड्राङ) को निरन्तरता रहने छ ।’
तिब्बती बौद्ध धर्मको इतिहासमा सबै प्रमुख जीवित बुद्धहरू,दलाई लामा तथा पञ्चेन लामा चीनभित्रै जन्मिएका हुन् । त्यसैले आगामी पुनर्जन्मका लागि चीनभित्रै खोजी गर्नु उक्त इतिहासको अटुट सिद्धान्त मानिन्छ । चीनले भनेको छ, ‘तिब्बती बौद्ध धर्म चीनको वास्तविकताअनुसार परिष्कृत धर्म हो । यसका अधिकांश वास्तविक अनुयायीको बसोबास चीनमै छ । गुम्बाहरू पनि चीनभित्रै छन् । यसर्थ पुनर्जन्मसम्बन्धी नियमन चीनको धार्मिक मामिला हो ।’
पुनर्जन्मको धार्मिक र ऐतिहासिक पृष्ठभूमि:
तिब्बती बौद्ध धर्ममा जीवित बुद्ध (टुल्कु) को पुनर्जन्म प्रणाली करिब ७०० वर्ष पुरानो छ । यसको प्रारम्भ १३ औं शताब्दीमा कर्मा काग्यु सम्प्रदायबाट भएको मानिन्छ । यस प्रणालीमा दिव्य सङ्केत,तालमा प्रतिबिम्ब हेर्ने,परीक्षण,गोप्य रुपमा बालकको पहिचान,सुनको भाँडाबाट चिठ्ठा तान्ने,गद्दी आरोहण र केन्द्र सरकारबाट अनुमोदन प्राप्त गर्ने परम्परा रहीआएको छ ।
तत्कालीन मिङ र छिङ वंशकालदेखि नै दलाई लामासहित उच्च दर्जाका जीवित बुद्धहरूको पुनर्जन्म केन्द्र सरकारको अनुमोदनसहित हुने चलन छ । त्यसैले चीनले धार्मिक स्वतन्त्रताको संरक्षण गर्दै पुनर्जन्मसम्बन्धी प्रक्रिया कानुनी संरचनाभित्र ल्याउने प्रयासस्वरूप सन् २००७ मा “तिब्बती बौद्ध धर्मका जीवित बुद्धहरूको पुनर्जन्मसम्बन्धी नियमनात्मक उपायहरू’ लागू गरेको हो । त्यसयता करिब एक सयभन्दा बढी जीवित बुद्धहरू परम्परागत धार्मिक विधि र कानुनी प्रक्रियाअनुसार चयन भइसकेको जनाइएको छ । यसमा सरकारको भूमिका धार्मिक संस्थाको आन्तरिक कार्यमा हस्तक्षेप नगर्ने,पुनर्जन्म प्रक्रिया र राष्ट्रिय हितबारे नियमन गर्नेमा मात्रै सीमित छ ।
राजनीतिक उद्देश्यबाट निर्वासित १४औं दलाई लामाले केही दिनअघि भारतको धर्मशालामा आयोजित एक कार्यक्रममा आफ्नो पुनर्जन्म भारत वा तेस्रो देशमा हुने,महिला वा जनावरको रूपमा हुने बताएका थिए । उक्त अभिव्यक्तिलाई चीनले धार्मिक परम्पराको अपमान र राजनीतिक प्रचारको रूपमा व्याख्या गरिएको भनेको छ ।
इतिहासका सबै दलाई लामा चीनभित्रै जन्मिएका र तिनको पुनर्जन्म प्रक्रिया केन्द्र सरकारको अनुमोदनसहित भएको उदाहरण दिँदै चीनले भनेकोे छ, ‘भविष्यमा पनि यही परम्परा पालना हुनुपर्ने हाम्रो अडान कायमै छ ।’
पुनर्जन्म दलाई लामा आफैंले निर्धारण गर्ने विषय नभएको चीनको निश्कर्ष छ । किनभने जीवित बुद्धहरूको पुनर्जन्म प्रणाली तिब्बती बौद्ध सम्प्रदायभित्र उत्तराधिकार समाधानका लागि थालिएको थियो । यसको सुरुवात कर्मा काग्यु सम्प्रदायबाट भएको मानिन्छ ।
सन् १२५२ मा मङ्गोल साम्राज्यका महान् खान मङ्के खानले कर्मा काग्यु सम्प्रदायका गुरु कर्मा पक्षीलाई आफ्नो गुरुका रूपमा मान्यता दिएको इतिहास छ । सो क्रममा उनलाई सुनको मुकुट र सुनको छाप प्रदान गरिएको थियो । कर्मा पक्षीले मृत्युको समयमा आफैं पुनर्जन्मको घोषणा गर्दै उत्तराधिकारी खोज्न निर्देशन दिएपछि पुनर्जन्म प्रणालीको सुरुवात भएको हो ।
दलाई लामाको पुनर्जन्म प्रणाली विकसित भएपछि, सन् १५८७ मा मिङ वंशकालमा केन्द्रीय सरकारले तेस्रो दलाई लामा सोनाम ग्यात्सोलाई “दोरजीछ्याङ” को उपाधि र छाप प्रदान गर्दै उनलाई श्रद्धाञ्जली दिन स्वीकृति दिएको थियो । यसरी दलाई लामाको परम्परालाई सरकारको औपचारिक मान्यता प्राप्त भएको ऐतिहासिक अभिलेख पाइन्छ ।
सन् १६५३ मा पाँचौं दलाई लामा बेइजिङ पुगेर छिङ वंशका सम्राट सुनचीसँग भेट गरेका थिए । त्यहाँ उनलाई “पश्चिमका महान करुणाका बुद्ध, सम्पूर्ण बौद्ध धर्मका नेता,बज्रधारी” को उपाधि र सुनको आदेशपत्र तथा छाप प्रदान गरिएको थियो । त्यसपश्चात्,प्रत्येक दलाई लामालाई पदभार ग्रहण गर्नुअघि केन्द्रीय सरकारको आधिकारिक अनुमोदन अनिवार्यको परम्परा कायम भएको हो ।
सन् १७९३ मा छिङवंशको सरकारले ‘तिब्बतको राम्रो शासनका लागि २९ बुँदे शाही आदेश’ जारी गर्दै पुनर्जन्म प्रक्रियालाई सुव्यवस्थित बनाएको पाइन्छ । आदेशले सुनको भाँडाबाट चिठ्ठा तानेर पुनर्जन्म पुष्टि गर्ने प्रणाली लागु गर्यो,जुन केन्द्रीय सरकारको प्रतिनिधित्वमा सम्पन्न हुने अनिवार्य प्रक्रियाभित्र पर्छ ।
सोही प्रणालीअनुसार १०औं,११औं, र १२औं दलाई लामाहरू सुनको भाँडाबाट चिठ्ठा तानेर छानिएका थिए । ९औं, १३औं, र १४औं दलाई लामाहरू भने केन्द्रीय सरकारको विशेष स्वीकृतिअनुसार छानिए । यसको अर्थ, कुन प्रक्रिया कुन बेला प्रयोग गर्ने वा नगर्ने निर्णयको सबै अधिकार केन्द्रीय सरकारको विशेषाधिकारभित्र रहेको भन्ने हो ।
धार्मिक परम्परा, ऐतिहासिक अभ्यास र राष्ट्रिय कानुनमा पुनर्जन्म अनिवार्य
दलाई लामाको उपाधि र अधिकारका निम्ति कानुनी मान्यता प्राप्त गर्न सरकारबाट उपाधि र छाप प्राप्त लिनु अनिवार्य हुन्छ । हालका निर्वासित १४औं दलाई लामा पनि सन् १९४० मा केन्द्रीय सरकार (तत्कालीन गणराज्य चीन) को अनुमोदनपछि मात्र धार्मिक गद्दी आरोहण गर्न सफल भएका थिए । त्यतिबेला अघिको झैँ सुनको भाँडोबाट तान्ने चिठ्ठा र विशेष स्वीकृतिको प्रक्रिया अवलम्बन गरिएको थिएन ।