पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित


१७:२५ बजे

झापा । झापामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा  पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो ।

हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताए । ‘अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि  सारिसकेको थिएँ’, उनले भने । डेढ बिघामा खेती गर्दै आएका उनले सिचाइँको वैकल्पिक व्यवस्था नभएकाले समस्या भएको दुखेसो गरे । रोपाइँ नहुँदा बीउ पहेंलिएको छ ।

गत वर्ष यति बेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि पानी तान्ने मोटर किसानले प्रयोग गर्न थालेकाले रोपाइँ बढ्ने विश्वास व्यक्त गरे ।

मल अभाव
झापामा गत वर्षझैँ यस वर्ष पनि मल अभाव भएको छ । कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । झापामा बर्खे धान खेतीका लागि डिपीए १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने प्रमुख विष्टले जानकारी दिए ।  मागअनुसार आपूर्ति भएको छैन । गत वर्ष मागका आधारमा १० प्रतिशत मात्र मल आपूर्ति भएको उनले बताए । गोबरको प्रयोग बढाउन सके ४० प्रतिशत रासायनिकको प्रयोग घटाउन सकिने प्रमुख विष्टले बताए ।

झापामा बर्खे धानको उत्पादकत्व हरेक वर्ष  बढ्दै गएको छ । जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा धानको उत्पादकत्व चार दशमलव ८५, आव २०७९/०८० मा चार दशमलव ८९ र गत आवमा ५ दशमलव ०५ पुगेको केन्द्रले जनाएको छ । जिल्लामा धान खेतीको क्षेत्रफल ८७ हजार पाँच सय हेक्टरबाट घटेर ७५ हजार चार सय ६९ हेक्टर भए पनि उत्पादकत्व भने वृद्धि भइरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख विष्टले बताए । झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छभने सबैभन्दा कम दमक नगरपालिकामा हुने गरेको छ । गौरीगञ्ज र कचनकवलमा पनि मनग्ये धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७