उपाधि जित्न सिङ्गापुरले दियो नेपाललाई ११४ रनको लक्ष्य

काठमाडौँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटमा उपाधि जित्न सिङ्गापुरले नेपाललाई ११४ रनको लक्ष्य दिएको छ । मलेशियाको बाङ्गीमा चलिरहेको फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर पाँच बलमा ११३ रन बनाउँदा अलआउट भयो ।
सिङ्गापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३, कप्तान रियान नाइकले १५, वेदनाश गुप्ताले अविजित १२ र आकाश तेजाले १० रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान तीन विकेट लिए । यस्तै शुभम खनालले तीन र कप्तान विपिनप्रसाद शर्माले समान एक विकेट लिए ।
नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेट र सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए । समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।