ननग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले ननग्रेडेड माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह गरेको छ । कामपाको उपप्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई ननग्रेडेड एसइई नतिजाको कारण खोज्न सम्बन्ध भएका विद्यालयका प्रमुखलाई आग्रह गरेकी हुन् ।
गएको तीन वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू नन्ग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेकी हुन् । यसकारण नेतृत्वको खोजी भएको हो । उनले भनिन्, ‘साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना ननग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।’
छलफलमा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनु जस्ता कारण केही विद्यार्थीहरूको एसइईको नतिजा राम्रो नभएको धारणा राखे ।
छलफलमा विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाए । उनीहरूको दृष्टिमा केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गरे ।
विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा कामपाबाट ५८ वटा सामुदायिक विद्यालयबाट चार हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (ननग्रेडेड) ले पुन परीक्षा दिनुपर्ने भएको छ । उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् ।