मन्त्रीलाई मेयर साम्पाङको पत्र : एडीबीको ऋण चाहिँदैन, खोलाखोल्सीको पानीले गुजारा गरौंला

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आगामी दिनहरूमा एडीबीको ऋण नलिने घोषणा गरेका छन् । खानेपानी तथा सरसफाइ मन्त्रालय, सिंहदरबार, काठमाडौंका नाममा आज पत्र लेख्दै मेयर राईले यस्तो घोषणा गरेका हुन् ।
उनले कम्तीमा ३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन धेरै पटक मन्त्रालय धाएको स्मरण गराउँदै आव. २०८२/०८३ मा ४ करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भएको तर बाँकीको पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकाले यस्तो घोषणा गरेका हुन् ।
मेयर राईले देशलाई विदेशी ऋणको भारी बोकाएर उचित नहुने बताएका छन् । धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सके मात्र योजना अगाडि बढाउन खानेपानी मन्त्रालयलाई उनले आग्रह समेत गरेका छन् । उनले लेखेका छन्, ‘आफ्नै राष्ट्रिय आन्दानीबाट खर्च गर्न सके मात्र योजना अगाडि बढाउनु होला अन्यथा हामी आफै खोलाखोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँछु ।’