प्रधानमन्त्रीसँग एडीबी अध्यक्ष : नेपालको आर्थिक रुपान्तरणमा सघन सहयोग गर्ने प्रतिबद्धता

३ खर्ब ६५ अर्ब रुपैयाँ सहयोग गर्ने एडीबीको घोषणा


२०८३ असार २३ मंगलबार १४:१३ बजे

काठमाडौं । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्दै नेपालको आर्थिक रुपान्तरण, रोजगारी सिर्जना र निजी क्षेत्रको विकासका लागि एडीबीले आफ्नो सहयोग अझ सघन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा अध्यक्ष कान्दाले नेपाल–एडीबीबीचको ६० वर्ष लामो साझेदारीलाई थप मजबुत बनाउँदै आर्थिक विकासका प्राथमिकतामा सहकार्य विस्तार गरिने बताए।

‘नेपाल अहिले निर्णायक मोडमा छ। यो थप गतिशील र उत्थानशील अर्थतन्त्र निर्माण गर्ने उपयुक्त अवसर हो,’ अध्यक्ष कान्दाले भने, ‘एडीबी नेपालकै सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा निरन्तर साथमा रहनेछ। हाम्रो प्राथमिकता रोजगारी सिर्जना, निजी क्षेत्रको सुदृढीकरण, पूर्वाधार विकास र देशभरका नागरिकको जीवनस्तर सुधार गर्नु हो।’

सन् २०२९ सम्म ३ खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी सहयोग

अध्यक्ष कान्दाले नेपालका लागि एडीबीको राष्ट्रिय साझेदारी रणनीति (२०२५–२०२९) अन्तर्गत २ अर्ब ४० करोड अमेरिकी डलर (करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ) बराबरको सहयोग उपलब्ध गराइने जानकारी दिए। उक्त सहयोग आर्थिक सुधार, दिगो पूर्वाधार, ऊर्जा, खानेपानी, शिक्षा, निजी क्षेत्रको विकास तथा डिजिटल रूपान्तरणमा केन्द्रित रहनेछ।

२५ अर्ब रुपैयाँ बराबरको नयाँ सम्झौता

नेपाल भ्रमणका क्रममा एडीबी र नेपाल सरकारबीच १६ करोड ५० लाख अमेरिकी डलर ९करिब २५ अर्ब रुपैयाँ० बराबरको सहयोग सम्झौतामा पनि हस्ताक्षर भएको छ। अध्यक्ष कान्दा र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सम्पन्न सम्झौता अनुसार ११ करोड ५० लाख अमेरिकी डलर सुरक्षित खानेपानी तथा ढल निकास परियोजनामा खर्च हुनेछ। यसबाट ८ लाख ५० हजारभन्दा बढी नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।
५ करोड अमेरिकी डलर नीतिगत ऋण सहयोगका रूपमा उपलब्ध हुनेछ। यसले भन्सार प्रणालीको आधुनिकीकरण, व्यापार प्रक्रियाको डिजिटलाइजेशन, व्यापार लागत घटाउने तथा नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने एडीबीले जनाएको छ।
परियोजनाको अवलोकन र नयाँ कार्यक्रम उद्घाटन

नेपाल भ्रमणका क्रममा अध्यक्ष कान्दाले एडीबीको सहयोगमा सञ्चालन भइरहेका विभिन्न विकास परियोजनाको अवलोकन पनि गरेका छन्।उनले काठमाडौंका दुईवटा विद्युत् सबस्टेसनको भर्चुअल उद्घाटन गरे। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योस सहभागी थिए।

त्यसैगरी, उनले २०७२ सालको भूकम्पपछि एडीबीको सहयोगमा पुनर्निर्माण गरिएको विश्व निकेतन विद्यालयको निरीक्षण गर्दै कृत्रिम बुद्धिमत्ता ९एआई० साक्षरता तथा शिक्षकहरूको डिजिटल सीप अभिवृद्धि कार्यक्रमको शुभारम्भ पनि गरे। कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेल पनि सहभागी थिए।

सरकारी प्राथमिकतामा केन्द्रित सहयोग

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा अध्यक्ष कान्दाले लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको विस्तार, आर्थिक वृद्धि तथा उत्थानशील अर्थतन्त्र निर्माणका विषयमा छलफल गरेका थिए। उनले निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेट गरी नेपालमा लगानीका अवसर र चुनौतीबारे छलफल गरेका थिए।

नेपालका लागि एडीबीको सहयोग निरन्तर विस्तार हुँदै

एडीबीका अनुसार चालु वर्ष नेपालका लागि संस्थाको वार्षिक सहयोग ६६ करोड अमेरिकी डलर ९करिब १ खर्ब रुपैयाँ० पुग्ने अपेक्षा गरिएको छ। एडीबीले रोजगारी सिर्जना, निजी क्षेत्रको विकास, दिगो पूर्वाधार निर्माण, सार्वजनिक सेवा सुधार, डिजिटल रूपान्तरण, महिला, अपाङ्गता भएका व्यक्ति तथा जोखिममा रहेका समुदायको सशक्तीकरणलाई प्राथमिकतामा राख्दै सहयोग विस्तार गरिरहेको जनाएको छ। साथै, सहवित्तपोषण, हरित वित्त तथा स्थानीय मुद्रामा बन्ड जारी गर्ने जस्ता नयाँ वित्तीय उपकरणमार्फत थप स्रोत परिचालन गर्ने रणनीति पनि अघि बढाइएको छ।

सन् १९६६ मा स्थापना भएको एडीबीको नेपाल संस्थापक सदस्य हो। नेपालले १९६८ देखि एडीबीको सहयोग लिन थालेको थियो। हाल एडीबी नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा करिब ४ अर्ब अमेरिकी डलर ९करिब ६ खर्ब रुपैयाँ० बराबरका विभिन्न विकास परियोजनामा लगानी गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७