नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने

धार्मिक पर्यटक बढेपछि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालनको तयारी


२०८३ भदौ ४ बिहीबार ०९:१६ बजे

नेपालगञ्ज : लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी हवाई सेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गर्ने जनाएको हो। यात्रुको माग बढ्न थालेपछि उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज–पोखरा उडानले पश्चिम नेपाललाई पोखरासँग मात्र नभई भारतको उत्तर प्रदेश क्षेत्रलाई समेत सीधा हवाई सम्पर्कमा जोड्नेछ।

गत जेठ ५ गतेदेखि यो रुटको उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु र सञ्चालन खर्चमा इन्धनको हिस्सा बढी भएकाले सेवा रोक्नुपरेको बुद्ध एयरले जनाएको थियो। पछिल्लो समय धार्मिक पर्यटकको आवागमन र यात्रुको माग बढेपछि सेवा पुनः सञ्चालन गर्न लागिएको हो। पुनः सञ्चालन हुने उडान आइतबार, बुधबार र शुक्रबार हुनेछ। बुद्ध एयरले उडानका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।

उडान पुनः सुरु हुने भएपछि पश्चिम नेपालका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार यो हवाई सेवाले बाँकेसहित पश्चिम नेपालका नागरिक तथा भारतका पर्यटकलाई पोखरासँग सीधा जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ।

उनका अनुसार उडान सञ्चालन भएपछि पोखरा, मुस्ताङलगायतका पर्यटकीय क्षेत्रमा पुग्न पश्चिम नेपालका नागरिकलाई सहज हुनेछ। त्यस्तै, पोखरा हुँदै बाँकेस्थित बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिक गन्तव्यमा आवतजावत गर्ने पर्यटकलाई समेत यसले सुविधा पुग्ने अपेक्षा गरिएको छ।

नेपालगञ्ज–पोखरा हवाई सेवा स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालनमा आएको थियो। बीचमा सेवा रोकिएपछि पश्चिम नेपालका पर्यटन व्यवसायीले नियमित उडानका लागि निरन्तर पहल गर्दै आएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७