एनजिओको बजेट नास्तिकता र धर्मान्तरणमा प्रयोग भइरहेको छ : राप्रपा प्रमुखसचेतक ओली

एनजिओ–आइएनजिओको वित्तीय कारोबार पारदर्शी बनाउनुपर्छ


२०८३ भदौ ४ बिहीबार १३:२९ बजे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता तथा गैरसरकारी संस्थाको वित्तीय कारोबारलाई थप पारदर्शी र जवाफदेही बनाउनुपर्ने बताएकी छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले एनजिओ तथा आइएनजिओका परियोजनाको खर्च विवरण पारदर्शी हुनुपर्ने बताइन्। ‘एनजिओ आइएनजिओका गतिविधि र वित्तीय प्रतिवेदनको अनुगमनसँगै वास्तविक रूपमा कति रकम आयो र कति खर्च भयो भन्ने विवरणसमेत स्पष्ट हुन आवश्यक छ,’ उनले भनिन्।

ओलीले ठूला दातृ निकायसँग नेपालले गर्ने वार्ताको रणनीतिसमेत सुधार गर्नुपर्ने बताइन्। प्रत्येक दातृ निकायले परियोजनाको वास्तविक रकम निकासा र खर्चको विवरण सरकारलाई पूर्ण रूपमा उपलब्ध गराउँछ कि गराउँदैन भन्ने प्रश्नसमेत उनले उठाइन्। उनले वैदेशिक सहायतामार्फत केही गैरसरकारी संस्थाले नास्तिकता फैलाउने काम गरेको आरोप लगाइन्। ‘नेपालमा आइएनजिओको नामबाट आउने बजेट नास्तिकता र धर्मान्तरणको लागि अधिकतम प्रयोग गरेको पाइएको छ। मैले एउटा मात्रै धर्मको कुरा गरिरहेको छैन, विभिन्न धर्महरूकै सङ्घ संस्थामा त्यस्ता बजेट आउने र धर्मान्तरण, नास्तिकता फैलाउने जस्ता गतिविधि भएको हामीले देखिराखेका छौँ,’ उनले भनिन्।

विभिन्न धार्मिक संघ–संस्थाले सार्वजनिक रूपमै धर्मान्तरण गराउन गाउँमा मानिस परिचालन गरेको पनि ओलीले बताइन्। ‘अहिले त विदेशी मान्छेहरू नै गाउँ गाउँमा खटिएको पनि हामीले देखिराखेका छौँ। यो कुरा नियमनमा आउनुपर्छ। यसले देशमा धार्मिक द्वन्द्व पनि उत्पन्न गर्न सक्छ,’ उनले थपिन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७