बागमतीमा राप्रपालाई तीन मन्त्रालय: आन्तरिक विवादकाबीच विष्ट, तामाङ र प्रजापति मन्त्री बन्दै
पार्टीभित्रै कारबाहीको तयारी
हेटौँडा : बागमती प्रदेश सरकार गठनमा एमाले र नेकपालाई समर्थन जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन वटा मन्त्रालय पाउने भएको छ। राप्रपाबाट राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापति मन्त्री बन्ने भएका छन्। सत्ता गठबन्धनमा एमालेले मुख्यमन्त्रीसहित दुई र नेकपाले दुई मन्त्रालय लिने सहमति बनेको बताइएको छ।
राप्रपा सांसद राजु विष्टका अनुसार उनले खानेपानी तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। यस्तै, गिरबहादुर तामाङलाई सामाजिक विकास र राजेन्द्र प्रजापतिलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिका लागि अपराह्न ४ बजे र शपथ ग्रहणका लागि ४ः२० बजेको समय निर्धारण गरिसकेको छ।
यसअघि बुधबार राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन जनाउँदै प्रदेश प्रमुखसमक्ष पत्र पठाएका थिए। पार्टीको निर्णयविपरीत समर्थन जनाइएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन्। यस विषयमा आवश्यक निर्णय लिन राप्रपाले आज अनुशासन समिति र कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
.gif)

.png)

