संसदले पास गरेका विधेयकमाथि अदालत प्रवेश गर्नु राम्रो भएन : कांग्रेस


२०८२ असार १६ सोमबार १७:२३ बजे
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार (असार १६) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो आपत्ति जनाएका हुन् ।

समितिमा यस दिन सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाको कार्ययोजना प्रस्तुतपछि उनले देशमा न्याय प्रणाली अत्यन्तै ढिलो भएको टिप्पणी गरे । विनियोजन विधेयकमाथि पनि अदालत प्रवेश गर्नु पटक्कै राम्रो नभएको उनले बताए । ‘संसद्ले पास गरेका विधेयकहरूमाथि, विनियोजन विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो भइरहेको छैन’, उनले भने, ‘यसले कतिपय अवस्थामा कार्यपालिका, व्यवस्थापिकालाई काम गर्न असजिलो भइरहेको छ ।’ सर्वोच्चमा कुनै कार्य धेरै समय अड्कने परिपाटी अन्त्य गर्ने योजना के छ ? भन्दै उनले प्रश्न गरे । शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुने गरेको भन्दै उनले यसलाई रोक्नुपर्नेमा जोड दिए ।

‘...सर्वोच्चमा गएर वर्षौंसम्म मुद्दा अड्किने गरेको छ । शक्ति पृथकीकरणको सिद्धान्त जुन छ, यसमा यो उल्लंघन हुन थालेको देखिएको छ’, उनले भने, ‘एउटाको अधिकार क्षेत्रभित्र अर्को प्रवेश गर्दा यो अभ्यास बारम्बार देखिएको छ । यसलाई रोक्नैपर्छ ।’ प्रमुख सचेतक घिमिरेले न्यायालयको असाधारण अधिकार क्षेत्रको दुरुपयोग हुन थालेको बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७