प्रदर्शन र अनशनबीच कांग्रेसकाे बैठक, यी १३ एजेण्डामा हुँदै छलफल

काठमाडौं । नौं महिनापछि सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो केन्द्रीय समिति बैठक बसेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको छ । बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल हुनेछ ।
केन्द्रीय समिति बैठक बस्ने भएपछि नेविसंघ र तरूण दलका कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन र आमरण अनशन गरेका छन् । महाधिवेशन माग गर्दै तरूण दलको असन्तुष्ट पक्षले आमरण अनशन र नेविसंघको असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन् । कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय छ । कांग्रेसले गत वर्ष भदौमा केन्द्रीय समिति बैठक गरेपछि यसबीचका १० महिनासम्म केन्द्रीय समिति राखेको थिएन । पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँग छलफल गरेर सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिबाट आवश्यक निर्णय लिँदै आएका थिए । कांग्रेस विधानअनुसार दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय समिति बैठक बस्नु पर्छ ।
यस्ता छन् छलफलका १३ एजेण्डा
१) १०० दिने अभियानका प्रतिवेदन प्रस्तुत र छलफल ।
२) केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन ।
३) केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत ।
४) अनुशासन समितिको प्रतिवेदन ।
५) क्रियाशिल सदस्यता नवीकरण प्रगति विवरण ।
६) केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय ।
७) नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र बिस्तार सम्बन्धमा ।
८) नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त ’नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ’ र ‘नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ’ (निस्टा) को नाम संशोधन सम्बन्धमा ।
९) कार्यसम्पादन समिति बैठकको निर्णय अनुमोदन ।
१०) जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका पारित गर्ने सम्बन्धमा ।
११) संसद र सरकारमा पार्टीको भूमिका प्रभावकारीता (मन्त्रीहरूको प्रतिवेदनसहित छलफल) ।
१२) समसामयिक विषय (राजनैतिक, सामाजिक ।
१३) शैक्षिक, प्रशासनिकलगायत विविध ।