देउवालाई भेटेर फर्किएपछि शिक्षामन्त्रीले भने–समिति बैठक स्थगित गरौं

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा समितिको बैठक स्थगित गर्ने प्रस्ताव गरेका छन् । सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर भर्खरै सिंहदरबार पुगेका शिक्षामन्त्री पन्तले बैठक स्थगित गर्ने प्रस्ताव समिति बैठकमा राखेका हुन् । उनले नेपाल शिक्षक महासंघसँग थप छलफल गर्नुपर्ने देखिएको बताएका छन् ।
आज (सोमबार) शिक्षा समितिको बैठकमा पदपूर्तिसहित सहमति जुट्न नसकेका विषयमा महासंघसँग छलफल गर्नुपर्ने देखिएको बताएका हुन् । ‘महासंघसँग अझै वार्ता गर्नुपर्ने देखिएको छ । सहमतिको प्रयत्न गर्यौं । तर, सहमति हुन सकेन । विधेयकमाथि छलफल गर्नुभन्दा आजको बैठक स्थगित गरौं’, उनले भने । महासंघका पदाधिकारीसँग आज शिक्षा मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन बनेको थियो । शिक्षक पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि महासंघका पदाधिकारी छलफलबाट बाहिरिएका थिए ।
पदपूर्तिमा शिक्षकहरूसँग सहमति नजुटेपछि शिक्षामन्त्री रघुजी पन्तले थप परामर्श थालेका थिए । असार १५ को डेटलाइन दिएर सडक संघर्ष रोकिए पनि अन्तिम अवस्थामा सहमति जुटाउन नसक्दा विषय पेचिलो बनेको छ । आफूहरूले सरकारलाई दिएको अन्तिम डेटलाइन सम्झाउँदै शिक्षक महासंघका नेताहरू आइतबार बिहानै सिंहदरबार पुगेका थिए । हिजै समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन ।