‘युवा विचारलाई हौसला र व्यावहारिक रुपान्तरण दिनु आजको आवश्यकता’

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यावदले युवाहरुका विचारलाई हौसला दिनु र व्यावहारिक रुपान्तरण दिनु आजको आवश्यकता भएको बताएका छन् । आज राष्ट्रिय युवा परिषद्ले यहाँ आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवद्र्धन सम्मेलन’ लाई सम्बोधन गर्दै उपराष्ट्रपतिले युवाहरुको सशक्त आवाजलाई नीति निर्माणको मूलधारमा समावेश गर्न सक्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘युवाहरुको सोच, दृष्टिकोण र नविन विचारहरूलाई आत्मसात् नगरी हामी समृद्ध नेपालको कल्पना गर्न सक्दैनौँ । उनीहरू परिवर्तनका संवाहक हुन् ।’ उपराष्ट्रपति यादवले हालको परिस्थितिमा युवाहरुको ऊर्जा, जोश र नव प्रवर्तनशील क्षमतालाई सहि दिशा दिनु सबै तह र तप्काका नेतृत्वकर्ताहरूको दायित्व भएको उल्लेख गरे । उनले भने, ‘युवाहरु उज्यालो भविष्यका सुनिश्चितता हुन् । उनीहरुका क्षमता र नवप्रवर्तनशीलतालाई सही दिशा दिनु सबै तहका नेतृत्वकर्ताको दायित्व हो । हाम्रो जस्तो मुलुकमा युवाहरुको ऊर्जा र नविन धारणा निकै महत्वपूर्ण छन् ।’ समृद्ध राष्ट्र निर्माणमा युवाको खाँचो रहेकाले युवाहरुको ऊर्जा, जोश र नवप्रवर्तनशील क्षमतामा सबैको सकारात्मक सोच र आवश्यकता अपरिहार्य रहेको उनले बताए ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिता बिना सम्भव नरहेको बताए । मन्त्री भण्डारीले देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिता बिना सम्भव नरहेकाले दक्ष जनशक्ति अभाव अन्त्यका लागि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘नेपालको कूल जनसङ्ख्याको करिब ४२ दशमलव ५६ प्रतिशत हिस्सा युवाहरूले ओगटेको अवस्थामा, देशको विकास र समृद्धिको यात्रा युवाशक्तिको सक्रिय सहभागिताविना सम्भव छैन ।’
मन्त्री भण्डारीले युवाहरुको सहभागिता र सक्रियतामै मुलुकको विकास र समृद्धि निर्भर रहने तथ्यलाई हृृदयङ्गम गरी युवाको सर्वाङ्गिण विकास, सशक्तिकरण, उद्यमशिलता प्रवद्र्धन, सीप विकास र रोजगारीमा जोड दिँदै युवा उद्यमशीलतालाई पहिचान गर्ने, क्षमता अभिवृद्धि गर्ने र देशको अर्थतन्त्रलाई स्वाधिन, सबल र प्रतिस्पर्धी बनाउँदै युवाहरूलाई रोजगारदाता बनाउने दिशामा सशक्त योगदान पुर्याउने विश्वास व्यक्त गरे । प्रविधियुक्त आधुनिक नेपाल निर्माणमा युवाहरूको भूमिका अझ बढी सशक्त एवं नेतृत्वदायी रहनुपर्ने मन्त्री भण्डारीले उनले जोड दिए । उनले दक्ष जनशक्ति अभाव अन्त्यका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘संघीय, प्रदेश र स्थानीय तहका सरकारहरूसँग सहकार्य गर्दै नवप्रवर्तन, नवप्रवर्तन प्रवद्र्धन तथा दीगो उद्यम विकासका लागि हाम्रो मन्त्रालयले नीतिगत सुधारदेखि वित्तीय पहुँच, बजार अभिमुखीकरण र सीप विकासमा जोड दिँदै आइरहेको छ ।’ उद्यम सुरु गर्न सजिलो नभएको र पुँजीको अभाव, नीतिगत अवरोध, सीप र मार्गदर्शनको अभाव जस्ता चुनौतीहरू प्रशस्त भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ती सबै चुनौतीहरू समाधान गर्न प्रतिबद्ध रहेको उनले प्रष्ट पारे । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालका युवा उद्यमी बन्न चाहने युवाहरुलाई मन्त्रालयले ऋण सहयोगदेखि अन्य आवश्यक पर्ने चिजहरुमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘युवाहरुलाई सहुलियत पूर्ण कर्जा प्रदान गर्न र उनीहरुलाई उद्यमी बनाउनका लागि म पूर्णरुपमा लागि परेको छु । युवाहरुलाई मेरो पूर्ण साथ र सहयोग रहने छ ।’