दुई मोटरसाइकल ठोक्किँएर लड्दा ट्रकले किचेर मृत्यु

सप्तरी । सप्तरीमा दुई मोटरसाइकल ठोक्किँदा लडेका बेला ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । दुई मोटरसाइकल ठोक्किँदा सडकमा लडेका चालकको ट्रकले किच्दा मृत्यु भएको हो ।
खडक नगरपालिका– ७ स्थित पूर्व पश्चिम राजमार्गअन्तर्गतको विसनपुर चोक नजिकै आइतबार भएको दुर्घटनामा वडा नम्बर ९ घर भएका ४५ वर्षीय दिपेन्द्र विश्कर्माको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विश्वकर्मा चढेको प्रदेश १–०५–००१ प १५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स २ प १९८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेका विश्वकर्मालाई विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००१ ख ३६३ नम्बरको ट्रकले किचेको र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । ट्रक चालक हेटौँडा उपमाहानगरपालिका १५ का २९ वर्षीय रामकुमार श्रेष्ठ तथा अर्का मोटरसाइकल चालक खडक नगरपालिका–७ का ३८ वर्षीय भुपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।