प्रकाशमानलाई कांग्रेस सांसदको सुझाव : सहरी विकास मन्त्रालयको नाम फेर्नुस्

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले सहरी विकास मन्त्रालयको नाम फेरेर ग्रामीण उत्थान तथा सहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन् । आज (आइतबार) राष्ट्रियसभा बैठकमा उनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका बेला मन्त्रिपरिषद् बैठकबाट मन्त्रालयको नाम फेर्न सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई सुझाव दिए ।
‘म सहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न । काम र नाम मिलेन कि ? तसर्थ, ग्रामीण उत्थान तथा सहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ । अहिले त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री ज्यू अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ । आफै भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरि जस्तो कामहरू भएको छ त्यो सजिलो हुन्छ कि ? भन्ने मलाई लागेको थियो’, उनले भने । सांसद मिश्रले काठमाडौंका नदीनाला र खोला स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको पनि बताए ।