मेघराज पोखरेललाई एमालेको सुझाव : न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुनुस्

‘दबाब, प्रभाव र प्रलोभनबाट माथि उठेर निर्णय गर्छु’


२०८२ असार १५ आइतबार १६:५४ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेललाई न्यायाधीश पदमा नियुक्त नहुन सुझाव दिएका छन् । पोखरेलले विगतमा सक्रिय राजनीति गरेको र व्यापारिक घरानाबाट प्रभावित हुने गरेको भन्दै बर्तौलाले न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुन सुझाव दिएका हुन् । संसदीय सुनुवाइ समितिको बैठकमा पोखरेलका योजना सुनेपछि आफ्ना धारणा राख्दै बर्तौलाले न्यायाधीश बन्ने प्रक्रियाबाट अलग हुन सुझाव दिएका हुन् ।

‘मेरो व्यक्तिगत मत के हो भने यो प्रक्रियाबाट तपाईं अलग्गिनु राम्रो हुन्छ,’ बर्तौलाले भने, ‘तपाईं योभन्दा अगाडि नजाने गरी बाहिरिनुस् यो मेरो व्यक्तिगत सुझाव हो ।’ त्यसअघि बर्तौलाले पोखरेल व्यवसायिक घरानाको प्रतिनिधित्व गर्दै एक बैंकको सञ्चालक समेत बनेको पाइएको बताएका थिए । ‘तपाईं विशेष गरी राजनीतिक आवरणबाट विभिन्न भूमिकामा, जिम्मेवारीमा रहनु भए पनि विशुद्ध तपाईंको हृदय चाहिँ केही चर्चित व्यवसायिक घरानाबाट अलि बढी प्रभावित भएर हिँड्नु हुन्छ भन्ने तपाईंमा प्रश्न छ,’ बर्तौलाले भने, ‘यो कानुन वृत्तमा पनि, न्यायिक क्षेत्रमा पनि, व्यवसायिक क्षेत्रमा त्यो कुरा तपाईंका बारेमा लाउँछन् ।’

उनले प्रश्न गरे, ‘व्यवसायिक घरानाहरुसँग बढ्ता तपाईं बफादार भएर वकिलको हिसाबले वकालत होइन, व्यवसायिक घरानाको प्रतिनिधिकै हिसाबले पनि यहाँले काम गर्नुहुन्छ भन्ने, यहाँको बसउठ त्यस्तो रहन्छ भन्ने एउटा बुझाइ छ । यो होइन भन्ने कुरा तपाईंले कसरी भन्नु हुन्छ ?’ हरिकृष्ण कार्की कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमा हुँदा तत्कालीन सर्वोच्च बारको अध्यक्ष रहेका पोखरेलले कार्की माथि प्रश्न उठाएको र आफूले व्यवसायिक हितका लागि काम गर्छु भनेर बोलेको स्मरण समेत बर्तौलाले गरे ।

बर्तौलाले फेरि प्रश्न गरे, ‘प्रस्तावित न्यायाधीश हुने वित्तिकै खुट्टा उचालेर, लौ हुन्छ भनेर, ७ महिना अघि गरेको कमिटमेन्ट फ्याँकेर, च्यातेर हिँड्न मिल्छ ? यदि तपाईं त्यो च्यातेर हिँड्नु हुन्छ भने भोलिको दिनमा न्यायिक क्षेत्रमा विचलन आउँदैन भन्ने कुराको सुनिश्चितता कसरी हुन्छ ? त्यतिमात्र होइन, आज वकिलहरु पद पाउनेवित्तिकै जे पनि गर्छन् भन्ने मानक स्थापित गर्न खोज्या हौं हामीले?’

‘दबाब, प्रभाव र प्रलोभनबाट माथि उठेर निर्णय गर्छु’
र्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश मेघराज पोखरेलले न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताएका छन् । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले कानून व्यवसायीहरु पक्षधर हुने, तर न्यायाधीश निरपेक्ष हुनुपर्ने बताए । आफू न्यायाधीश बनेपछि निरपेक्ष रुपमा काम गर्ने उनको भनाइ थियो। उनले आफू न्यायाधीश भएपछि संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘कानून व्यवसायीहरुले एउटा न एउटाको पक्षधरमै काम गर्नुपर्छ । तर न्यायाधीश भएपछि न्यायाधीशको पक्ष हुँदैन । न्यायकर्मीको जिम्मेवारी पाएँ भने मेरो जुन रोल थियो, त्यसलाई परिवर्तन गरेर संविधान, कानून र न्यायको पक्षमा अब्बल सावित गर्नेछु । न्यायपालिका स्वतन्त्र र निष्पक्ष हुनुपर्छ । त्यस्तो दृष्टिकोण न्यायाधीशले राख्नुपर्छ । यसको लागि न्यायपालिकामा दबाब, प्रलोभनहरु आउनसक्छन् । धम्की आउनसक्छन् । त्यो भन्दा माथि उठेर निर्णय गर्नुपर्छ । कार्यपालिका र व्यवस्थापिकासँगको सम्बन्धमा पनि न्यायपालिकाको भमिका हुन्छ ।’ उनले सबैले संविधानभित्रै रहेर काम गर्नुपर्ने बताए । संविधानको सीमाभित्र रहेर काम गर्न नसके मुलुकमा गतिरोध हुने जिकिर गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७