७५ हजार बढीलाई दुबईमा बन्धक बनाइएको राप्रपाको दाबी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ७५ हजार बढी नेपालीलाई दुबईमा बन्धक बनाइएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो दाबी गरे पनि तथ्याकंको स्रोतबारे केही बताएनन् । शाहीले दुबई कतार र साउदी अरबमा नेपालीहरुलाई बन्धक बनाइएको भन्दै भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएकाले जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताए ।
उनले भने, ‘आज हामीले उनीहरुको चीत्कार सुन्नुपर्छ कि पर्दैन ? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबाही गर्नुपर्छ कि पर्दैन ?’ उनले राजनीतिक दाउपेच बिर्सेर संसदीय समिति बनाएर भिजिट भिसा प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताए । सरकारले संसदमा संख्याका आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत उनले आरोप लगाए ।