विशेष अदालतको क्यान्टिनमा मकै खाँदै आफ्ना वकिलसँग गफ गर्दै अध्यक्ष नेपाल

काठमाडौं । विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपद्धि अहिले दुवै पक्ष आदेशको पर्खाइमा छन् । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा थुनछेक बहस भएको थियो ।
आजै आदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष समेत रहेका नेपाल विशेष अदालतको क्यान्टिनमा आफ्ना कानुन व्यवसायीहरूसँग गफ गर्दै आदेश पर्खाइमा छन् । उनले उसिनेको मकै खाएका छन् । उनले छोटो प्रतिक्रिया दिए, ‘बिहान खाना खाएपछि केही खाको छैन ।’ जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
०६९ सालमै अख्तियारले पाँच वर्षमा क्षतिपूर्ति गर्ने भनिएको जग्गासम्बन्धी नियमित अनुगमन गर्न काभ्रेपलाञ्चोक मालपोत कार्यालयलाई निर्देशन दिँदै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियो । त्यसको १३ वर्षपछि अख्तियारले नेपालविरुद्ध मुद्दा चलाउने निर्णय गरेको थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालको बयान पनि आजै विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको थियो ।
पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाल नामक गैरनाफामूलक कम्पनीका लागि गैरकानुनी रूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको हो ।