रास्वपा र राप्रपा सांसदलाई बोल्न नदिन कांग्रेसको माग, नरोके प्रतिवादमा उत्रिने चेतावनी

काठमाडौं । प्रतिनिधि सभाकोआज (आइतबार) को बैठकमा सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाउँदै बोल्नबाट वञ्चित गर्न सभामुख देवराज घिमिरेसँग माग गरेका छन् । ‘अहिले संसद्मा दैनिक संसदीय कारबाही सुरू भएपछि नियमितरूपमा उठ्ने, गालीगलौज गर्ने, व्यक्तिगत लाञ्छना लगाउने प्रक्रिया चलिरहेको छ । चोर भन्ने, फटाहा भन्ने, मानव बेचुवा भन्ने यो प्रक्रिया सुरूवात भएको छ । यसलाई अन्त्य गर्नैपर्छ,’ उनले भने, ‘यो हुजेलसम्म संसद्को मर्यादा कायम रहन सक्दैन।’
कांग्रेसका प्रमुख सचेतक घिमिरेले भिजिट भिसाका विषयमा सरकारले छानबिन समिति गठन गरिसकेको अवस्थामा रास्वपा र राप्रपाले सभामुखले दिएको समय दुरुपयोग गरेर जथाभावी अभिव्यक्ति दिइरहेको भन्दै यसलाई सभामुखले नरोके प्रतिवादमा उत्रिने चेतावनी दिए ।
‘भिजिट भिसाका विषयमा संसद्को ध्यानाकर्षण भइसकेको र समिति बनिसकेको अवस्था हो । यो अवस्थामा दैनिक समय प्रदान हुन्छ, त्यसको दुरुपयोग गरेर जुन ढंगले अभिव्यक्ति दिने प्रक्रिया भएको छ, म सभामुख ज्यूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने, ‘यो प्रथालाई अन्त्य गर्नुपर्छ । होइन भने यो संसद गालीगलौजमै सकिन्छ । हामीले पनि त्यही ढंगले प्रतिवाद गर्नुपर्ने हुन्छ भन्ने कुरा निवेदन गर्न चाहन्छु । यो प्रक्रियालाई बन्द गर्ने हो भने यस्तो अभिव्यक्ति गर्ने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ ।’