मोटरसाइकल दुर्घटनामा बाबु–छोरासहित तीन जनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका चतरा–कान्छी चौक सडक खण्डमा मोटरसाइकल दुर्घटना हुुँदा बाबु–छोरासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अरू दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गए राति कान्छी चौकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको अर्को मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा बाबु–छोरासहित तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल चालक रामधुनी–६ का ३४ वर्षीय इनर्चन चौधरी, उनका छोरा ९ वर्षीय प्रनिष चौधरी र को ३३ प ९६०५ नम्बरको मोटरसाइकल चालक इनरुवा–६ का ५१ वर्षीय बिन्दु यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनामा मृतक ३४ वर्षीय चौधरीको श्रीमती ३२ वर्षीय प्रतीक्षा चौधरी र अर्को मोटरसाइकल पछाडि सवार इटहरी ७ का ३६ वर्षीय रमेश चौधरी घाइते भएका छन् । उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।