प्रधानमन्त्रीले संसदमा गराए स्पेन भ्रमणबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा जाने कार्यतालिकाबारे जानकारी गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा ओलीले स्पेन भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन् ।प्रधानमन्त्री ओलीले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा २१ जना सदस्य रहेको उनले बताए ।
ओलीले भने, ‘मेरो नेतृत्वमा जाने हाम्रो भ्रमण टोलीमा २१ जना सहभागि हुनेछौं । यो संख्यामा स्पेन स्थित नेपाली राजदूत र न्युयोर्क स्थित आवासीय प्रतिनिधि समेत हुनु हुनेछ । परराष्ट्र मन्त्रालयका सचिवसहित सम्बन्धित क्षेत्रको नेतृत्व गर्ने अधिकारीसहितको टीमका अतिरिक्त अर्थ सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव पनि भ्रमण दलमा हुनुहुन्छ । प्रधानमन्त्रीको मुख्य सल्लाहकारसहित स्वकीय सचिवालयका आवश्यक व्यक्तिहरुको संलग्नता छ ।’
स्पेनका राष्ट्रपति पेड्रो सान्चेज पेरेज–कास्टेजोन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको संयुक्त निमन्त्रणामा प्रधानमन्त्री ओली सेभिल्ला जान लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सम्मेलनलाई प्रधानमन्त्रीले अतिकम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्ष र नेपालको प्रधानमन्त्रीका हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी पेद्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । ओलीले नेपालमा लगानी गर्न त्यहाँका व्यवसायी र लगानी कर्तालाई आग्रह गर्ने जानकारी गराए ।