मदन भण्डारीलाई हामीले महासचिव बनाएको हो : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारीलाई आफूहरुले महासचिव बनाएको बताएका छन् । आज (शनिबार) मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको मदन जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उनलाई महासचिव बनाउनु सार्वजनिक महत्वको कुरा भएको समेत बताएका छन् ।
‘जननेता मदन भण्डारीलाई चौथो महाधिवेशनले महासचिव बनायो,’ ओलीले भने, ‘उहाँलाई महासचिव बनाउनु ऐतिहासिक महत्वको घटना थियो । नेतृत्वअनुसार आन्दोलन अघि बढ्ने नबढ्ने कुरा भर पर्छ । हामीले छैटौँ महाधिवेशनमा पारित गरेको कुरा मदन भण्डारीलाई महासचिव नबनाएको भए ती उपलब्धि हुन सक्दैनथे ।’
उनले मदन भण्डारी त्यतिकै नेता नबनेको समेत बताएका छन् । ‘मदन भण्डारी त्यतिकै नेता बनेको होइन,’ ओलीले भने, ‘फुत्त निस्केर आएको होइन ।’ उक्त विषयमा आम रुपमा पनि सहमतिको वातावरण बनेको अध्यक्ष ओलीले स्मरण गरे । ‘त्यस कुरामा आम रुपमा भन्ने हो भने सहमतिको वातावरण नै बनेको थियो र उहाँ महासचिव बन्नुभएको थियो,’ उनले भने । मदन भण्डारीको मृत्यु भएपछि जबजका आवाजको बढी चर्चा भएको भन्दै उनले यसलाई गणना गर्दा चौथो महाधिवेशनबाटै सुरु गर्नुपर्ने बताए ।
‘त्यसयता जबजका तीन दशक आजको छलफलको प्रारम्भ भएको छ । जबजका तीन दशकलाई गणना गर्दा पाँचौं महाधिवेशनबाट गर्न हुँदैन । त्यतिबेलासम्म त जबजले काम देखाइसकेको थियो, नाम नराखिएको मात्रै हो,’ प्रधानमन्त्री ओलीले भने । जबजका साढे ३ दशकभन्दा लामो अवधि भइसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘०४६ सालको चौथो महाधिवेशनदेखि जबजको गणना गर्नुपर्छ । तीन दशक त जननेता मदन भण्डारीका आवाजका दशक रहे,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँ बितिसक्नु भएपछि ०५० साल जेठ ३ गतेदेखिका तीन दशक हुन् । यी तीन दशक अत्यन्तै चुनौतीका दशक रहे ।’