पोखरेलको प्रश्न : विद्या भण्डारी पोलिटिक्समा आउँदा किन बुरुक–बुरुक ?

‘एमालेमा उमेर र कार्यकालको कुरा सोचेर राखिएको हो’


२०८२ असार १४ शनिबार २१:०५ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउने बताएका छन् । मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको ‘जबजको तीन दशक’ विषयक विचार गोष्ठी कार्यक्रममा पोखरेलले राजनीतिक व्यक्ति राजनीतिमा आउनुलाई अनौठो मान्न नहुने बताएका हुन्।

‘पूर्व राष्ट्रपति आउने कि नआउने  ? दलीय व्यवस्थामा दलबाटै प्रतिनिधित्व गरेर जानु भएका हो । एउटा भूमिका पूरा गर्नुभयो । उहाँ पोलिटिकल मान्छे हो भन्नेमा गफ गरिरहनु पर्छ र ? राजनीति गरेर आएको मान्छेलाई अनौठो हो र ? किन इफ बट  भन्या ? के जरुरी ?’ पोखरेलले भने, ‘राजनीति गरेर आएपछि राजनीतिमा रुची हुन्छ । कुनै अनौठो होइन। के जिम्मेवारी लिने सल्लाह र समझदारीले हुन्छ । अनि किन अनेक कुरा ट्याक ट्याक गरेको, किन बुरुक–बुरुक ?’

राजनीतिमा आउनु पूर्व राष्ट्रपतिको धर्म नै भएको उनले बताएका छन् ।  ‘पूर्व राष्ट्रपति राजनीतिक मान्छे हो । राजनीतिमा चासो राख्न पाउनु उहाँको धर्म हो । जुन ठाउँमा जन्मिनु भयो, हुर्किनु भयो । उहाँलाई किन न्यारो ढंगले सोच्ने ?,’ पोखरेलले भने, ‘राजनीतिमा आउँदा राजतन्त्र छोडेर गणतन्त्रमा आएको के काम जस्तो भनेर हुँदैन । के गर्ने भनेर अध्यक्षसँग सल्लाह हुन्छ । हामी सबै बसेर सल्लाह गर्छौं । तातेको तावामा उफ्रिएको जस्तो के गरेको ?’

‘एमालेमा उमेर र कार्यकालको कुरा सोचेर राखिएको हो’
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी जीवनको लोकतान्त्रिकरण जबजको अभिछिन्न अंग भएकाले तलमाथि गर्न नसकिने बताएका छन् । नेता पोखरेलले पार्टीमा लोकतान्त्रीकरणको चर्चा गर्दै जुनसुकै विद्रोहलाई विधिसम्मत समाधान गर्नुपर्ने पोखरेलले बताए । 

‘२०७८ साल असोजमा विधान महाधिवेशन भयो । त्यो महाधिवेशनमा विधान मात्र होइन, सङ्गठनात्मक प्रस्ताव पारित भयो । राजनीतिक प्रतिवेदन पारित भयो । राजनीतिक प्रतिवेदनको आधारमा सङ्गठनात्मक प्रस्ताव र सङ्गठनात्मक प्रस्तावका आधारमा विधान पारित भयो । यस हिसाबले यी विषयहरू अघि बढेर र पारित भए’, महासचिव पोखरेलले भने, ‘त्यसबेला पारित भएका दस्ताबेजहरू जस्ताको तस्तै सुरक्षित छन् । हामीले पार्टीको लोकतान्त्रीकरणको बारेमा के– के कुरा गर्‍यौँ । कार्यकालका कुरा गर्‍यौ, उमेरका कुरा गर्‍यौ । नियन्त्रण र सन्तुलनका कुराहरू पनि गर्‍यौ र थुप्रै कुराहरू राख्यौँ । त्यो राखेको कुनै झ्वाकमा राखेको होइन, सुविचारित ढङ्गले लामो बहस र छलफलबाट निकालिएका निष्कर्ष हो ।’

उपाध्यक्ष पोखरेलले अहिले पनि विधान महाधिवेशन हुन लागेको भन्दै पार्टीमा लोकतान्त्रिकरणको कुरा गर्दा एमालेमा उमेर र कार्यकालको चर्चा चल्नु स्वाभाविक भएको बताएका छन् । ‘कुरा उठ्छन् छलफल चल्छ । बेलै यही हो त अलिअलि कुरा भइहाल्छ नि’, उनले भने, ‘यदि विधान र नेतृत्व चयनको महाधिवेशन एकै पटक गर्दा छलफल हुँदैन भनेर नै छुट्टै गर्ने व्यवस्था गरिएको हो ।’ उनले देखिएका समस्याहरु समाधान गर्न एमालेले क्षमता राख्ने पनि बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७